मकवानपुरमा र्‍यापिड टेष्ट गर्दा १ जनामा कोरोना ‘पोजेटिभ’

0
Shares

रोशन पराजुली,हेटौंडा ।

मकवानपुरको भीमफेदीमा गरिएको आरडीटी परीक्षणमा एक जनामा पोजेटिभ देखिएको छ । ती व्यक्ति भीमफेदी गाउँपालिकाका कर्मचारी रहेको बताइएको छ ।राजविराज घर भएका उनी एक दिनअघि गाउँपालिका आएका थिए । करिब २८ वर्षीय उनको भीमफेदी गाउँपालिकाको स्वास्थ्य केन्द्रमा भएको परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले सोमबार दुई जनाको आरडीटी परीक्षण गरेको थियो । जसमध्ये एक पुरुषको रिपोर्ट एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएको हो ।

गाउँपालिकाका कर्मचारीमा आरडीटी पोजेटिभ देखिएको अध्यक्ष हिदम लामाले बताउनुभयो । गाउँपालिकाका कर्मचारीमा एन्टिबडी पोजेटिभ देखिएपछि गाउँपालिकामा उच्च सतर्कता अपनाएर गाउँलाई शिल गरिएको उहाँले बताउनुभयो ।

आरडीटी पोजेटिभ देखिएका उनलाई हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा राखिएको छ । एन्टिबडी पोजेटिभ देखिएपछि गाउँमा थप सतर्कता अपनाइएको र ती व्यक्तिको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा पठाइएको छ ।

गाउँपालिका कार्यालयमा थप सुरक्षा सतर्कता बढाइएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीले त्यहाँ थप सुरक्षा प्रवन्ध मिलाएको छ । छिमेकी जिल्ला बारा, पर्सा, रौतहट र चितवनमा कोरोना संक्रमित भेटिएका कारण मकवानपुरमा थप सचेतता अपनाइएको छ । स्थानीय तहका स्वास्थ्यकर्मीले विदेशबाट फर्किएका र अन्य जिल्लाबाट आएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छन् । सोही क्रममा शंकास्पद् देखिए स्वाब संकलन गरी पीसीआरसमेत भइरहेको छ ।

हालसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३ सय २२, थाहा नगरपालिकामा ५५, मकवानपुर गढी गाउँपालिकामा ७७, बागमती गाउँपालिकामा ३८, कैलाश गाउँपालिकामा ३९, मनहरी गाउँपालिकामा ४९, इन्द्रसरोवर गाउँपालिकामा १५, भीमफेदी गाउँपालिकामा ४८, बकैया गाउँपालिकामा २२ र राक्सिराङ गाउँपालिकामा ९ जनाको आरडीटी परीक्षण भइसकेको छ ।