सांसद अपहरण प्रकरण : महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको भन्दै अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ ।

उनीहरुमाथि आज जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा उजुरी दर्ता भएकोहो ।अब उक्त उजुरीमाथि सरकारी वकिल कार्यालयले अध्ययन गर्ने र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।

अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए ।

तर वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए । सा‌ंसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।