२७ औँ प्रेस स्वतन्त्रता दिवसः भिडियो कन्फरेन्स मार्फत सम्पन्न


दिपेन्द्र गजुरेल, स्पेन।

नेपाल पत्रकार महासंघ युरोप शाखाले २७ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अनलाईन भर्चुअल संवाद सम्पन्न गरेको छ ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले शुभकामना मन्तब्यमा भने ‘आजको विश्व प्रेस स्वतन्त्रता दिवसले संसारभरी छरिएर रहनु भएका तमाम पत्रकार साथीहरुलाई जनता, न्याय र स्वतन्त्रताको पक्षमा अझ बढि शसक्त रूपमा खबरदारी गर्न उच्च मनोबल प्रदान गरोस् ‘।

राज्यले पत्रकारहरूले स्वतन्त्रता पूर्वक लेख्न र बाँच्न पाउने अधिकारका विरुद्धमा विभिन्न काल खण्डमा कानुनी व्यवस्थाको माध्यमबाट अंकुश लगाउँने सडेन्त्र विरुद्धमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गरेका आन्दोलनमा संसारभरबाट ऐक्यबद्धता र सहयोग भएकोमा खुशी ब्यक्त गर्नुभएको थियो ।

अध्यक्ष आचार्यले थपे ‘त्यसैगरी आगामी दिनहरूमा पनि राज्यबाट संञ्चारकर्मीहरूलाई नियन्त्रण गर्ने कानुन बनाउने प्रयास भएमा त्यसको लागि पनि सबैले डटेर खबरदारी गर्नुपर्ने र सबैको साथ सहयोगको अपेक्षा समेत गरेको बताउँदै भविष्यमा पुनः प्रदेशहरुले बनाउने प्रेस स्वतन्त्रता सम्बन्धी कानुनहरुमा कहि कतै त्यस्ता अंकुश लगाउने र भविष्यमा आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर सबै पत्रकार मित्रहरू चनाखो रहनुपर्ने बताउनुभयो ।

त्यसैगरी प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भए पनि समय समयमा प्रेस स्वतन्त्रता र पत्रकारहरु माथि अनेकौ अंकुश लगाउने गरेको देखिएका छन ।अध्यक्ष श्रेष्ठले भने ‘सरकारमा बस्नेहरुले सुझावलाई बिष र आलोचनालाई बिरोध ठान्ने संस्कार रहेको र पत्रकारले पनि आफ्नो पेशागत संस्कार र प्रेस स्वतन्त्रताको बढ्दो दुरुपयोगलाई पनि निस्तेज गर्न तर्फ सचेत हुनु पर्ने धारणा ब्यक्त गरे।’

अध्यक्ष श्रेष्ठ थप्छन् ‘अहिलेको कोरोनाको संकटको अबस्थामा स्वास्थ्यकर्मी र सुरक्षानिकाय संगै पत्रकार पनि फ्रन्ट लाइन मा रहेर काम गरिरहेको तर सरकारबाट पत्रकारलाई कुनै खास सेवा,सुविधा प्राप्त नभएकोमा असन्तुष्टि समेत जाहेर गर्दै नेपाल पत्रकार महासंघ,न्युनतम पारिश्रमिक निर्धारण समिति र प्रेस काउन्सिल नेपालको संयुक्त प्रयासमा कोरोनाको अवधिमा बन्द भएका पत्रपत्रिका,रेडियोलाई केहि राहत दिने कार्यक्रमको लागि सरकारलाई सहमत बनाएको पक्ष भने सुखद रहेको बताउनुभयो ।

‘ नेपाल पत्रकार महासंघ प्रदेश-२ का उपाध्यक्ष केसी लामिछाने,महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, कतार शाखाका अध्यक्ष करिमबक्स मियां,युके शाखा अध्यक्ष नरेश खपाङ्गी,दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुँवर लगायतले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना सहित आ-आफ्नो देशको अहिलेको वर्तमान अबस्थाका बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युरोपका शाखाका अध्यक्ष केजिन राईले गरेका थिए । नेपाल पत्रकार महासंघ युरोप शाखाले विभिन्न देशमा रहेका गैरआवाशिय नेपाली संघ तथा विभिन्न संघ संस्था एवम् नेपाली राजदुताबासहरू संग पनि नेपालीहरूको अवस्था बारेमा चासो राख्दै अनलाईन भर्चुअल संवाद निरन्तर राख्दै आइरहेको छ ।