‘अध्ययनपछि मात्रै राहत प्याकेज’


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन भइरहेको भन्दै त्यसपछि विस्तृत प्याकेज ल्याउने बताउनुभएको छ । आक्यानले गरेको भिडियो कन्फ्रेन्समा बोल्दै गभर्नर अधिकारीले अहिले शुरुआती प्याकेज ल्याइएको भन्दै विस्तृत अध्ययनपछि अर्को प्याकेज ल्याइने बताउनुभयो ।

उहाँका अनुसार अहिले राष्ट्र बैंक आफैंले पनि अध्ययन गरिरहेको र बैंकहरूले पनि छुट्टाछुट्टै अध्ययन गरिरहेको बताउँदै त्यसपछि विस्तृत प्याकेज आउनेछ ।
‘बैंकहरूले ५ करोड रुपियाँभन्दा माथिका ऋणीहरूको अवस्था, निरन्तरताका लागि के गर्न सकिन्छ ? सुविधाका विषयमा, व्यवसायमा चल्ने नसक्ने अवस्थाका विषयमा अध्ययन गरी विस्तृत प्याकेज आउँछ,’ उहाँले भन्नुभयो ।अधिकारीले यसका लागि नियमनकारी निकायबीच राहत ल्याउने विषयमा समन्वय गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले १५ रुपियाँ नाफा आर्जन गर्ने बैंक तथा वित्तीय संस्थासँग ४० रुपियाँ कमाउने उद्योगीलाई राहत दिन बाध्य हुनु परेको गुनासो गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले गरेको नाफा सबै पारदर्शी हुने गरेको र उनीहरूको नाफा घटेको समयमा ४० रुपियाँ नाफा कमाउने उद्योगी व्यवसायीलाई पनि राहत दिंदा समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘उद्योगी, व्यवसायीहरूमा पनि बैंकको जस्तो पारदर्शिता चाहियो । अनी हामीलाई पनि राहत दिन मजा आउनेछ ।’

यो वर्ष नै ८ महिना १० दिनसम्म राम्रो व्यवसाय चलाएर नाफा कमाएका उद्योगी व्यवसायीहरू नै राहत चाहियो भने र माथिल्लो निकायसम्म पुगेको प्रति गुनासो गर्नुभएको छ । उद्योगी व्यवसायीहरूको माथिल्लो तहमा पनि पहुँच हुने राहतको लागि माथिल्लो निकायसम्म पहलका लागि लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘लकडाउनभन्दा अघिसम्म राम्रो नाफा गरेको उद्योगी व्यवसायीहरू समेत ब्याजदर घटाउनु प¥यो भन्दै हिंँडेका छन्, राहत चाहिने हो भने साँच्चै समस्यामा परेकालाई दिन पाए हुने थियो । हामीले साना तथा मझौला उद्योगीलाई राहत दिने भनेका छौं । त्यसमा हाम्रो सदैव सहयोग हुनेछ ।’

उहाँले साना तथा मझौला उद्यमीलाई बेस रेटमा ऋण दिन तयार रहेको बताउनुभयो । बेस रेटमा नै ऋण दिँदा बैंकलाई शून्य दशमलव २५ प्रतिशत नोक्सान हुने पनि जानकारी गराउनुभयो । अहिले बैंकहरूले जसरी पनि नाफा गरेका छन् भन्ने सबैको बुझाई रहेको भन्दै त्यो बुझाई सच्याउन पनि आग्रह गर्नुभयो ।