सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाइल एप्स्मार्फत् मोबाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ ।

सेञ्चुरी पे मार्फत् ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढी मर्चेन्टमा क्युआर कोडमार्फत् भुक्तानी गर्न सकिनेछ ।

यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाइलमार्फत् आफैं मोबाइल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ । एफवान सफ्टले तयार गरेको यो मोबाइल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ ।

देशकै कान्छो वाणिज्य बैंकको रुपमा स्थापित सेञ्चुरी कमर्सियल बैंकले अत्याधुनिक किसिमको बैंकिङ सेवा दिँदै आएको छ । बैंकले १ सय १३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो ।