काठमाडौं, (नेस) ।
केही दिनदेखि लगातार वर्षा भएपछि मौसममा सुधार आउन अझै दुई साता लाग्ने मौसमविद् राजु प्रधानांगले बताउनुभएको छ । मुलुकमा पछिल्लो केही दिनयता पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको छ भने बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको छ ।
दुई महिनाअघि सक्रिय भएको प्रिमनसुनका साथै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले मौसममा बदलीसँगै वर्षा भएको मौसमविद्को भनाइ छ ।
प्रि–मसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित वर्षा हुने गर्दछ । अहिले प्रि–मनसुनको साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।
आइतबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । गएको वर्ष आजकै दिन उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो ।
अहिले देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातको समयमा देशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
सोमबार देशको पूर्वी तथा मध्य भू–भागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।











प्रतिक्रिया