राष्ट्रपति भण्डारीद्वारा बजेट अधिवेशन आह्वान, संसद् बैठकलाई सुरक्षित बनाउन सभामुखद्वारा परामर्श


मधुसूदन रायमाझी, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ । आइतबार सरकारको सिफारिसमा उहाँले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेस गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

जेठ १५ अगावै पूर्व–बजेट छलफल गर्ने परम्परा छ । नयाँ संविधान जारी भएयता पूर्व–बजेट छलफलका लागि वैशाखको दोस्रो साताबाट बजेट अधिवेशन आह्वान गर्ने गरिएको छ । तर, यो वर्ष कोरोनाको कारण कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र पूर्व–बजेट छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने भएको छ ।

पूर्व–बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागिपरेको छ ।

सभामुखद्वारा परामर्श 

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को बैठकमा कोभिड–१९ को संक्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी संसद्का बैठकहरू सञ्चालन गर्ने विषयमा परामर्श गर्नुभएको छ ।

आइतबार सिंहदरबारस्थित कार्यकक्षमा उहाँले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरूसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा परामर्श गर्नुभएको हो । परामर्शपछि सभामुख सापकोटाले संसद्का तर्फबाट गर्न सकिने सबै पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ ।

संसद् सचिवालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले संघीय संसद् भवनमा यही वैशाख १८ गते गरेको स्थलगत अनुगमनका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरूको बसाइ व्यवस्थापन गरिरहेको संसद सचिवालयका कार्यवाहक महासचिव योगीले जानकारी दिनुभयो ।

अनुगमनपछि स्वास्थ्य टोलीले सबै सांसदहरूको स्वास्थ्य परीक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन र सभाहलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुने व्यवस्था मिलाउन सुझाव दिएको थियो ।

टोलीले सांसदहरूका लागि सर्जिकल माक्सको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माइक एक जना सांसदले बोलिसकेपछि स्यानिटाइज प्रयोग गरेर मात्रै अर्को सांसदले बोल्ने व्यवस्था मिलाउन, हरेक टेबलमा स्यानिटाइजर राख्न, बैठक कक्षको ‘सेन्ट्रल एसी’ नचलाउनेलगायतका सुझाव दिएको थियो ।