राजदूत हाउको सक्रियता ‘अस्वाभाविक’, ‘तरल राजनीतिमा एमसीसीको माछा मार्ने दाउ’


सुनील महर्जन, काठमाडौं ।

मुलुककको तरल राजनीतिमा नेपालस्थित चीनका राजदूत हाउ याङछीको सक्रियतालाई परराष्ट्रविद्हरूले अस्वाभाविक बताएका छन् । सत्तारूढ दलको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला र यो हदसम्म भूमिका अस्वाभाविक रहेको पनि उनीहरूको भनाइ रहेको छ ।

आन्तरिक राजनीतिमा यति साह्रो चासो लिएर भेटघाट गर्नु कूटनीतिक मर्यादाविपरीत रहेको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बताउनुभयो । ‘नेकपाभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा राजदूत भेटघाटले दल विशेषको पक्षधरता झल्किएको छ । यो हदसम्म चिन्ता, चासो आवश्यक छैन ।’ परराष्ट्रविद् श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

प्रधानमन्त्री केपीशर्मा ओली दुईवटा अध्यादेश ल्याएसँगै छताछुल्ल भएको नेकपाभित्रको विवादको विषयमा राजदूत याङछीले १९ गते शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्नुभएको थियो ।

राजदूत हाउले नेकपाभित्रको द्वन्द्व र ओलीको निरन्तरताको सम्भावनाबारे छलफल भएको बुझिएको छ । प्रचण्डसँगको भेटलगत्तै उहाँले वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित उहाँकै निवासमा पुगेर भेट्नुभएको थियो ।

राजनीतिक अवस्था कमजोर भएपछि छिमेकी दौडधूपमा हुने नेपालको पुरानै नियति रहेको पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यको भनाइ रहेको छ । नेता प्रचण्ड र नेपाललाई भेट्नुअघि राजदूत हाउले बिहीबार राति राजनीतिक संकटको भूमरीमा फसेका प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गर्नुभएको थियो ।

यस भेटघाटलाई चिनियाँ अधिकारीले दुईपक्षीय सहयोग र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गर्ने सहयोग र सद्भावलगायतमा छलफल भएको जानकारी दिए पनि यति मात्र कुरो भयो होला भनेर भन्न नसकिने पनि परराष्ट्रविद् श्रेष्ठको भनाइ रहेको छ ।

‘यस समयमा चिनियाँ राजदूत सबैलाई भेटेर तपाईं सञ्चै हुनुहुन्छ भनेर सोधपुछ गर्न वा औपचारिकताका लागि मात्र जानुभएको होइन होला’, श्रेष्ठले भन्नुभयो– ‘अर्कोतर्फ यस्तो सहयोग र सद्भावको कुरो गर्नु नै छ भनेर प्रधानमन्त्रीलाई मात्र भेटे पुगिहाल्छ । दलका सबै नेतालाई भेट्न जरुरी छ र ?’

तर, चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले कोरोना रोकथामलाई लिएर चीनले विश्वभर यही प्रकारको सक्रियता देखाएको बताउँदै भन्नुभयो– ‘सहयोगको विषय र सुझावमा पनि राजदूतले जोड गरेको देखिन्छ । यसमा आफू कसरी प्रभावकारी हुने भनेर चीन लागेको छ ।

चीन यति बेला सक्रिय भएर लागिपरेको छ ।’ सन्दर्भ फरक भए पनि सत्तारूढ दलभित्र भएको यस्तो अवस्थामा पक्कै पनि चीनले मिलेर जानुहोस् भनेको हुन सक्ने पनि कार्कीले बताउनुभयो ।

करिब एक साता पहिले चिनियाँ राष्ट्रपति सी जिन पिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरी ओलीको सुस्वास्थ्य र खुसीका लागि दिएको शुभकामनालाई ओलीपक्षले वर्तमान राजनीतिक संकटमा चीनको ओलीलाई समर्थनका रूपमा प्रस्तुत गर्दै आएको छ ।

राष्ट्रपति सीको भण्डारीसँग फोन वार्तापछि राजदूत हाउले भण्डारीसँग एक्लै भेट गर्नुभएको थियो । यसपछि राजदूतले सक्रियता देखाउनुभएको हो । पूर्वराजदूत डा. दिनेश भट्टराईले कूटनीतिमा स्तर, समय, सन्र्दभ, पृष्ठभूमि र उपभोग गरेको शब्दले अर्थ राख्ने बताउनुभयो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को प्रतिवेदनसँग पनि भेटघाटको सन्दर्भलाई जोड्न सकिने भट्टराईको भनाइ रहेको छ ।

सरकार प्रमुख र नेताहरूलाई कूटनीतिक नियोगका व्यक्तिले भेट्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधि राख्ने व्यवस्था नहुनु नेपालको विदेश नीतिको ठूलो कमजोरी रहेको विज्ञहरूको धारणा छ । ‘परराष्ट्र मन्त्रालयको संस्थागत विकास र अभिलेखका लागि पनि यतिसम्म त गर्न सकिन्छ नि ।’ –उनीहरूले भने । ‘तरल राजनीतिक अवस्थाको धमिलो पानीमा एमसीसीको माछा मार्ने दाउ पनि हुन सक्छ ।’ –परराष्ट्रविद्हरूको टिप्पणी छ ।