ललितपुर महानगरले सासंदहरुसँग गर्यो छलफल


 न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले लकडान र यसले सिर्जना गरेकोे अवस्थाको विषयमा ललितपुर क्षेत्र नं २ र ३ का सासंदहरुसँग छलफल गरेको छ । उक्त छलफलमा सहभागी भएका सासंदहरुले लकडाउनलाई थोरै खुकुलो बनाउँदै ठूला विकास निर्माणका योजना र कृषि कार्यलाई सुरु गर्न सुझाव दिएका छन् । संघीय सासंद पम्फा भुषालले सामाजिक दुरी कायम गरेर कृषि कार्यलाई अघि बढाउनु पर्ने बताइन् ।

वैदेशिक रोजगारीमा गएका धेरै जनशक्ति नेपाल फर्कर्ने तर्फ इंगित गर्दै उनले यसलाई आफ्नै देशमा रोजगार सिर्जना गर्ने अवसरका रुपमा लिनुपर्ने बताइन् । सासंद भुषालले कोरोनाले विश्व अर्थतन्त्र प्रभावित भएको बताउँदै त्यसको असर नेपालमा समेत पर्ने भएकाले त्यस तर्फ सोचेर योजना तर्जुमा गर्नुपर्ने धारणा राखिन् । कोरोना नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले गरेको काम सह्रानीय भएको बताइन् ।

संघीय सासंद कृष्णलाल महर्जनले सामाजिक दुरी कायम राखेर कृषि कार्यलाई अघि बढाउनुपर्ने अहिले आवश्यकता भएको प्रष्ट पारे । बाग्मती प्रदेश सासंद राजकाजी महर्जनले सामाजिक दुरी कायम गरेर विकास निर्माणसँगसँगै कृषि कार्यलाई अघि बढाउनुपर्ने धारणा राखे । कोरोनाले विषयलाई नयाँ ढंगबाट सोच्न वातावरण सिर्जना गरेका बताउँदै विदेशबाट आएकालाई उत्पादनसँग जोड्नुपर्ने बताए ।

बाग्मती प्रदेशका अर्का सासंद माधव पौडेलले लकडाउनलाई थोरै खुकुलो बनाएर यो समयलाई कृषि उत्पादनको क्षेत्रमा लगाउनुपर्ने बताए । विकास योजनाहरुको काम पनि सुरु गर्नुपर्ने उनको धारणा थियो । उनले कौशी खेती मार्फत तरकारीमा आत्मनिर्भर बन्न सक्ने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा वाग्मती प्रदेश सासंदहरु शोभा श्रेष्ठ, देवकी श्रेष्ठले लकडाउनलाई चरणबद्ध तरीकाले खुल्नुपर्ने धारणा राखे । उनीहरुले कृषिसँगसँगै हस्तकला , काष्ठकला , मूर्तिकलाका कामलाई सामाजिक दुरी कायम गरी सुरु गर्न दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी ललितपुरका नारायणप्रसाद भट्टले कोरोना नियन्त्रणका लागि लकडाउन महत्वपूर्ण भएको बताए । उनले अत्यावश्यक गतिविधि सामाजिक दुरी कायम गरेर गर्न सकिने बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोना रोकथाम र नियन्त्रणका लागि महानगरले गरेको कामको जानकारी गराए ।

प्रदेश सरकारले २० लाख रुपैयाँ उपलब्ध गराएको बताउँदै संघीय सरकारले सहयोग नगरेको बताए । उनले बाँजो ठाउँमा खेती गर्न महानगरपालिकाले त्यस सम्बन्धि निर्देशिका तयार पारेको बताए । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईको उपस्थिति थियो । साथै सुरक्षा निकायका प्रमुखहरु, सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, विपद् व्यवस्थापन समितिका संयोजक नारायण लाल अवाले ,वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन , वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जनले लकडाउन र यसले सिर्जना गरेको परिस्थितिका बारेमा छलफल गरेका थिए ।