मजदुर र विद्यार्थीलाई स्थानीय युवाद्वारा राहत वितरण


नेपाल समाचारपत्र, भक्तपुर ।

भक्तपुर सूर्यविनायकका युवाहरुले बालकोटमा दैनिक ज्याला मजदुरी गरिखाने मजदुर कोठाभाडामा बस्ने विद्यार्थीलाई राहत वितरण गरेका छन् ।

लकडाउनको कारण मजदुर र विद्यार्थीलाई दैनिक गुजारा चलाउनै नसक्ने अवस्थामा पुगेपछि बालकोटका युवाहरुको पहलमा खाद्यान्न सामग्री वितरण गरेको हो ।

बालकोट युवा समूहले सूर्यविनायक नगरपालिका वडा नम्बर २ र ३ र १ मा कोठा भाडामा बस्ने करिब ११ सय परिवारलाई टोलटोलमा पुगेर खाद्यान्न वितरण गरेका थिए । उनीहरुले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा मूल भण्डार राखी विभिन्न १७ स्टेसनबाट खाद्यान्न सामग्री वितरण गरेका छन् ।

लकडाउनको समयावधि पटकपटक थपिएपछि बालकोट युवा समाजले प्रतिपरिवार १५ केजी चमल, १ केजी दाल, नुनतेललगायतका खाद्यान्न उपलब्ध गराएको युवा समूहका संयोजक रवि राणाले जानकारी दिनुभयो ।

राहत पाएपछि कोठा भाडामा बस्ने मजदुर र विद्यार्थीहरुको केही दिन भए पनि दैनिकी सहज भएको बताउँछन् ।

खाद्यान्नको न्यायोचित वितरणका लागि टोलटोलमा पुगेर ५० जना स्वयंसेवकले अभावमा परेका परिवारको नामावली संकलन गरेका थिए बालकोटका युवाहरु सुवास कार्की, चन्द्र श्रेष्ठ, जयराज पौडेल, सुदन अधिकारी ,दिपेश श्रेष्ठ, प्रद्युम्न कार्कीलगायतका २५ जना युवाको सक्रियतामा दाताहरुबाट खाद्यान्न सामग्री संकलन गरेका थिए ।

लकडाउनको समयावधि बढेसँगै उपत्यकामा दैनिक ज्याला मजदुरी गरी खाने वर्ग प्रत्यक्ष मारमा परेका छन् ।बन्दाबन्दीको सयमावधि थपिँदै जाँदा स्थानीय तहले दिएको राहत पर्याप्त नहुँदा गत साता धेरै मजदुरहरुले उपत्यका छाडेका थिए ।