फुङ्लिङमा आगो लागी, ३३ परिवार विस्थापित


दिलकुमार लिम्बु, ताप्लेजुङ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ । फुङ्लिङबजारको माथिल्लो रोडस्थित पुरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा भएको आगलागीबाट आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

राति १० बजेबाट शुरू भएको आगलागी करिब अढाइ घन्टापछि फुङ्लिङ नगरपालिकाको वारुण यन्त्र, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो ।

आठ घर आगलागीले नष्ट हुँदा पसल व्यवसाय सञ्चालन गर्दै आएका समेत करिब ३३ परिवार विस्थापित भएका प्रारम्भिक तथ्यांक संकलन भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यद्यपि यथार्थ विवरण भने आउन बाँकी नै रहेको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभएको छ ।