सांसद अपहरण प्रकरण : अनुसन्धान गर्न सर्वोच्च अदालत बार एशोसिएसनको माग

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

प्रतिनिधि सभाका सदस्यलाई अपहरण गरेको आरोप लागेको विषयको अनुसन्धान गर्न सर्वोच्च अदालत बार एशोसिएसनले शनिबार सम्बद्ध निकायसँग माग गरेको छ । सर्वोच्च बारले विज्ञप्ति जारी गरी उक्त विषयको अनुसन्धान गर्न माग गरेको सो बारका सदस्य सरोज घिमिरेले जानकारी दिनुभयो ।

विश्व नै कारोना भाइरसको त्रासदीपूर्ण महामारीबाट छट्पटाई रहेको अवस्थामा पनि विगत केही दिन यता प्रतिनिधि सभाका जिम्मेवार राजनीतिक दलका सदस्य एवं सुरक्षाकर्मीका पूर्वप्रमुखलाई मुछेर अपहरण तथा शरिर बन्धक सम्बन्धी विषयले चर्चा पाएको उल्लेख गर्दै त्यसको बारेमा यथार्थ छानविन गर्न उक्त बारले माग गरेको छ ।

अपराध संहिताले मानिसको अपहरण गर्ने तथा शरिर बन्धक लिने कार्यलाई गम्भीर अपराध रुपमा राखेको स्मरण गर्दै विज्ञप्तिमा यसलाई कार्यान्वयन गर्ने जिम्मा कानून कार्यान्वयन गर्ने निकायको भएको उल्लेख गरिएको छ ।