मानव अधिकार हननका विषयमा गुनासो संकलन

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

मानव अधिकार अवस्था अनुगमन तथा समन्वय समितिले मानव अधिकार हननका बिषयमा गुनासो संकलन गर्न सुरु गरेको छ ।जिल्लाका सम्पूर्ण नागरिकहरुबाट जानकारी लिन सञ्चार माध्यम, सामाजिक सञ्जाललगायतका प्रविधिको प्रयोग गरि गुनासो संकलन गरिने भएको हो ।

समितिले जिल्लामा मानव अधिकारको अवस्थाका बिषयमा नागरिकहरुबाट प्राप्त जानकारीका आधारमा अनुगमन गर्दा अस्पतालहरुले प्रदान गर्नुपर्ने विमा सुविधा अन्र्तगतका औषधिहरु वितरण नगरिएको पाइएकाले सम्बन्धित अस्पतालहरुलाई विमा वापतको औषधि वितरण गर्न ध्यानाकर्षण गर्ने समितिका संयोजक रविन्द्र प्रधानले बताउनुभयो ।

त्यस्तै जिल्लामा सञ्चालित अधिकांश सहकारीहरु सञ्चालन नहुँदा निक्षेप जम्मा गरेका सदस्यहरुले रकम झिक्न नसक्दा उनीहरुको दैनिक जीवनयापनमा असर पुगेको पाइएकाले सम्बन्धित निकायलाई सहकारी सञ्चालन गरि नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउने प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षन गर्ने भएको छ ।

त्यस्तै पेशागत अधिकार अन्र्तगत जिल्ला अदालत भक्तपुरमा अभियोगपत्रहरु दर्ता गर्ने, म्याद थप गर्ने कार्य भइरहेको तर, लकडाउनका कारण कानुन व्यवसायीहरु बहश तथा पैरवीका लागि सहज रुपमा अदालतसम्म पुग्न सक्ने अवस्था नहुँदा पिडीतहरुको न्यायमा पहुँचका लागि सबन्धित पक्षको ध्यानाकर्षण गराउने भएको छ ।

समतिको आज बसेको बैठकले सदस्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुर प्रतिनिधी रमेश गिरीलाई मनोनित गरेको छ । समितिको संयोजक रविन्द्र प्रधानको संयोजकत्वमा बसेको बैठकले गिरीलाई मनोनित गरेको हो । समितिमा यसअघि गैरसरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा बजगाई र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी सदस्य रहनु भएको छ ।