गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम सम्बन्धी छलफल

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ ।

गोरखा वेलफेयर ट्रस्ट नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिपिई, थर्ममिटर, एन ९५ माक्स लगायतका व्यक्तिगत सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको छ । यसैगरी उक्त संस्थाले प्रतिष्ठानको प्राङ्गणमा वाससंग सम्बन्धित सामाग्रीहरुको स्थापना गरिदिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा. विनोद बन्दु शर्माले जानकारी गराउनुभयो ।

डा.शर्माका अनुसार गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको  आ.ब. २०७७/७८ को नीति तथा कार्यक्रम सम्बन्धि स्वास्थ्य निर्देशनालयमा छलफल सम्पन्न भएको छ कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक, स्वास्थ्य आपूर्तिव्यवस्थापन केन्द्रका निर्देशक, सामाजिक विकास मन्त्रालयक महाशाखा प्रमुखहरु लगायत उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी बुधबार कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारको लागि जनशक्ति तथा आपुर्ती परिचालन समितिको बैठक  समपन्न भएको छ । समितिका संयोजक डा. तारानाथ पोख्रेलले गण्डकी प्रदेशमा कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनमा हालसम्म भए गरेका गतिविधिबारे   जानकारी गराउनुभयो । बैठकले आगामी दिनमा हाल देखिएका कमजोरी र गतिरोधलाई कम गर्दै प्रभावकारी रुपमा कोभिड १९ नियन्त्रण, रोकथाम र व्यवस्थापन कार्य अगाडी बढाउने निर्णय गरेको छ । साथै डिसइन्फेक्सन टनेलको प्रयोग बारे मापदण्ड बनाउनु पर्ने र त्यसको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायसंग समन्वय गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।

चिनिया अन्तर्रा्ष्ट्रिय विभाग प्रमुखको उपस्थितिमा नेपालबाट पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेल, सातै प्रदेशका प्रदेश प्रमुखहरु तथा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुको बीचमा भिडियो कन्फ्रेन्स बैठक सम्पन्न भएको छ ।बैठकमा गण्डकी प्रदेशबाट मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, प्रमुख न्यायाधिवक्ता र  स्वास्थ्य निर्देशनालयका निर्देशक समेत उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी थप ४० जना व्यक्तिको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । बुधबारसम्म गण्डकी प्रदेशमा ६ सय २१ जनाको नमुना संकलन भएको छ जसमा ६ सय १३ जनाको परीक्षण परिणाम नेगेटिभ रहेको छ, ७ जनाको परिणाम आउन बाँकी रहेको छ  भने २ जना संक्रमित मध्ये दुवै जना निको भएर घर फर्किसक्नुभएको छ । त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म ५ हजार ४ सय ११ जनाको आरडिटी परीक्षण गरिएको छ ।

हेल्लो डाक्टर १०९२ मा ७ सय ६० जनाले चिकित्सकीय परामर्श सहितको  विशेषज्ञ सेवा लिएकाछन् । हेल्लो डाक्टर सेवामा मणिपाल शिक्षण अस्पतालबाट डा. प्रमोधी प्रेमाश्री र डा. रबिना श्रेष्ठले चिकित्सकीय परामर्श सहितको सेवा प्रदान गर्नुभएको निर्देशक डा.शर्माले जानकारी गराउनुभयो ।