प्रधानमन्त्री ओलीको पक्षमा बालुवाटारमा सांसदहरुको हस्ताक्षर

0
Shares

मधुसूदन रायमाझी,काठमाडौं ।

सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेसँगै गणितिय जोडघटाउ सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री पद मध्ये एक मात्र लिन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले दबाब दिएपछि पार्टीभित्र गणितिय जोडघटाउ सुरु भएको हो । तीन गुट रहेका नेकपाभित्र सरकारले ल्याएको दुई अध्यादेशको कारण प्रधानमन्त्रीले राजिनामा दिनुपर्नेसम्मको माग पार्टीभित्रबाट उठेको छ ।

अध्यादेशपछि उत्पन्न परिस्थितिको समाधान गर्न शीर्ष नेताहरुलाई एक्लाएक्लै भेटेर प्रधानमन्त्रीले आफ्नो पक्षमा पार्ने कोशिल असफल भएपछि संसदीय दलमा बहुमत पुर्याउन सांसदहरुले हस्ताक्षर अभियान चलाएका छन् । प्रधानमन्त्री ओलीलाई प्रचण्ड समुहका केही सांसहरुले पनि साथ दिएका छन् । पार्टीभित्र चर्को आलोचना भएपछि ओलीले आफूलाई सुरक्षित देखाउन संसदीय दलमा बहुमत पुर्याउने खेल अगाडि सार्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गर्न लगाउनुभएको छ । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराएको सांसद कृष्ण राईले जानकारी दिनुभयो । उहाँका अनुसार संसदीय दलका बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डले केही दिनअघि काङ्ग्रेस, मधेसवादी दलका नेताहरूलाई भेटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको सूचना पाएपछि प्रधानमन्त्रीले संसदीय दलभित्र बहुमतमा रहेको सिद्ध गर्न आफू पक्षत्रका सांसदहरुलाई हस्ताक्षर गर्न लगाउनुभएको छ ।

हाल नेकपाका १ सय ७२ जना सांसद् छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सांसदको आवश्यकता पर्छ । प्रधानमन्त्री ओली केही दिनदेखि सांसदहरूसँग छलफलमा गर्ने कामलाई निरन्तरता दिदै आउनुभएको छ । सोमबार र मंगलबार सांसदहरूलाई बोलाएर शीर्ष नेताहरू नै सरकार परिवर्तन गर्न लागेकाले पार्टी विभाजन हुने खतरा औंल्याउदै तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो ।