अनलाइन कक्षा सञ्चालन गर्न प्याब्सनको निर्देशन, नयाँ भर्ना अझै अनिश्चित


ईश्वरराज ढकाल, काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ । प्याब्सनले लकडाउनपछि पनि विद्यालय खुल्ने अनिश्चित भएपछि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले वैशाख २२ बाट कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय कमिटीलाई निर्देशन गरेको बताउनुभयो ।

प्याब्सन केन्द्रीय कार्यसमितिको हालै बसेको अनलाइन बैठकले कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । अध्यक्ष पुरीले कक्षा सञ्चालन नगर्दा विद्यार्थीको पठनपाठन डामाडोल हुने र शैक्षिक सत्रको क्यालेन्डरमा समेत असर पर्ने भएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।

तर, नयाँ भर्नाको विषयमा कुनै निर्णय नभएको प्याब्सनको भनाइ छ । प्याब्सनले लकडाउन लम्बिए नयाँ भर्ना गर्ने विषयमा निर्णय लिने जनाएको छ । प्याब्सनले लकडाउन खुलेपछि मात्रै भर्ना लिने आन्तरिक तयारी गरिरहेको छ । तर, केही विद्यालयले पढाइसँगै भर्ना खोल्नुपर्ने जनाउँदै आएका छन् ।

प्याब्सनअन्तर्गतका अधिकांश विद्यालयले अस्ति १५ गतेबाट परीक्षाफल प्रकाशित गरिसकेका छन् । केही ठूला विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गरिसकेका छन् । विद्यालयमै उपस्थित भएजस्तो पढाइ नहुने भए पनि विद्यार्थीलाई व्यस्त गराउन प्याब्सनअन्तर्गतका विद्यालयले अनलाइन पढाइ शुरू गर्न लागेको हो ।

प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले एक साताभित्र पढाइ सञ्चालन गर्न सबै सदस्य विद्यालयलाई आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पूर्ण सबै विद्यालयमा कक्षा सञ्चालन गर्न सम्भव नभए पनि तयारी गर्न आग्रह गरेका हौं ।’

हाल देशभर करिब १० हजार विद्यालयमा करिब ३० लाख विद्यार्थी अध्ययनरत छन् । प्याब्सनले पाठ्यसामग्रीमा एकरूपता ल्याउन अनलाइनमार्फत सेवा दिने विभिन्न कम्पनीसँग सम्झौता गर्ने तयारी गरेको छ । ‘करिब आधा दर्जन कम्पनीले सेवा दिन तयार भएको जनाएका छन्, तीमध्ये सबै विद्यालयको पाठ्यक्रमसँग मिल्ने कम्पनीसँग सम्झौता गर्ने तयारी गरेका छौं ।’ –सहअध्यक्ष ढुंगानाले भन्नुभयो ।

प्याब्सनले सरकारी पाठ्यक्रमसँग मेलखाने सामग्री तयार गर्ने कम्पनीसँग मात्र सम्झौता गर्ने जनाएको छ । निजी विद्यालयले अनलाइन कोर्स सञ्चालन गर्ने तयारी गरेको भए पनि हालसम्म अति विकट जिल्लामा त्यसको तयारी भएको छैन ।

अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले अहिलेको अवस्थामा अनलाइन कक्षा अपरिहार्य रहेको बताउनुभयो । ‘अहिले शुरू गरेपछि पछिसम्म स्थायी हुने गरी अनलाइन कक्षा सञ्चालन गर्न उपयुक्त हुने धारणा राख्दै उहाँले भन्नुभयो– ‘अब अनलाइन र भर्चुअल कक्षाको विकल्प छैन ।’

तर, दूरदराजमा रहेका विद्यालयमा कसरी सम्भव हुन्छ भन्ने विषयमा सरकार र निजी विद्यालले सोच्नुपर्ने उहाँको धारणा थियो । ‘अब झन् असमान शिक्षा हुने देखिएको छ’, उहाँले भन्नुभयो– ‘त्यसलाई व्यवस्थित गर्न सरकारले नयाँ नीति ल्याउन जरुरी छ ।’ उहाँले सबै विद्यालयमा इन्टरनेटको पहुँच पु¥याएर अनलाइन कक्षाको विस्तार गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो ।

प्याब्सनका उपाध्यक्ष टीआर ढकालले विद्यार्थीलाई सूचना र प्रविधिको पहुँच विस्तार गर्न निजी विद्यालयले अनलाइन र भर्चुअल कक्षा सञ्चालन गर्न लागेको बताउनुभयो । ‘यो वर्ष तयारी गर्छांै, आउँदो वर्षबाट यसलाई निरन्तरता दिएर सहज बनाउने तयारी गरेका छांै ।’ –उहाँको भनाइ थियो ।

उता एनप्याब्सनआबद्ध विद्यालयले पनि अनलाइन कक्षा शुरू गर्ने जनाएको छ । एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले केही सातापछि अनलाइन कक्षा सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘मिति तोक्न सकिँदैन, चाँडै नै भर्चुअल र अनलाइन कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा छौं ।’ एनप्याब्सन आबद्ध अधिकांश विद्यालयले स्थगित भएको परीक्षाफल प्रकाशित गरिसकेको छ ।