कोरोना संक्रमित बढेसंगै परिक्षणको दायरा पनि बढाईँदै

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै परिक्षणको दायरा पनि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार हाराहारीमा स्वास्थ्यकर्मीको लागि चाहिने पिपिई मौज्दात रहेको जनाकारी दिईयो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य सामग्री अभाव नभएको पनि जानकारी गराउनुभयो ।

गत हप्ता तिब्बत सरकारबाट प्राप्त भएको २० हजार भिटिएममध्ये १० हजार उपत्यका र प्रादेशिक अस्पतालका प्रयोगशालामा वितरण गरिएको छ । कोरोना आशंकामा हालसम्म ५४ हजार ८ सय २६ नमुना परीक्षण गरिएको छ । जसमध्ये १० हजार ८ सय ७ पिसिआर र ४४ हजार १९ र्यापिड टेस्ट परीक्षण गरिएको छ ।

२४ घन्टामा १ हजार १ सय ९३ को नमूना परीक्षण भएको छ । देशभर मंगलबार २२ हजार ९९ र आइसोलेसनमा १ सय ७ जना रहेको पनि डा.देवकोटाले जानकारी गराउनुभयो । मन्त्रालयका अनुसार हालसम्म ३ सय ९ जना रेड जोनमा परेका छन् । रेड जोनमा परेका सबैलाई ट्रेसिङ कार्य इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ ।

रौतहट जिल्लाका २४ र ३५ बर्षका पुरुषमा थप कोरोनाको संक्रमण देखिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । मगंलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको स्बाब परीक्षणमा नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो ।

दुबैजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उपचारको लागि अस्पताल ल्याउने काम भैसकेको मन्त्रालयले जानकारी दिएको छ ।हालसम्म नेपालमा ५४ जना संक्रमित भएका छन् । १६ जना निको भएर घर फर्किसकेका छन् भने ३८ जना मध्ये धनगढीमा १, विरगञ्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।