लकडाउनले बारीमै कुहियो तरकारी

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

पहाडी जिल्ला भएको बागमती प्रदेशमा यस समय खेतमा चैते धान रोपाईं गर्ने काम सकिएको छ भने वर्खे धानको बिउ (ब्याड) राख्ने, बारीमा मकै तथा दलहन लगाउने काम भइरहेको छ । तर, लकडाउनका कारण रासायनिक मल र मकैको बीउ स्थानीय तहमा उपलब्ध नभएपछि किसान अन्यौलमा छन् ।

कोरोना भाइरस (कोभिड–१९) ले देश लकडाउनमा छ । लकडाउनका कारण कृषकले उत्पादन गरेको कृषि उपजले बजार पाएको छैन । देशका प्रमुख बाली धान, मकै, दलहन तथा तरकारी खेतीको मौसम सुरु भए पनि किसानले सहज आफ्नो काम गर्न पाएका छैनन् ।
लकडाउन सुरु भएको एक महिना पुगिसक्दा पनि कृषकले खेतीका लागि आवश्यक मल, बीउ नपाएको बागमती प्रदेशस्थित इन्सेक प्रतिनिधिले पठाएको प्रतिवेदनबाट सूचना प्राप्त भएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ ।

कृषकको उत्पादनले बजार नपाउँदा काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवकोटलगायत जिल्लाका कृषक मर्कामा परेका छन् । कृषकले उत्पादन गरेको काउली, बन्दा, मुला, करेला, लौका, फर्सी जस्ता ताजा तरकारी बारीमै कुहिने गरेका छन् ।

पशुपालक किसानले उत्पादन गरेको दूधले बजार नपाउँदा किसान मर्कामा छन् भने कतै कुखुरा बजारमा नपठाउँदा तथा समयमै दाना नभएको कारण कुखुरा तथा गाईभैंसी बचाउनै समस्या परेको छ । एकातिर कृषि उत्पादनले बजार नपाइरहँदा अर्कोतिर उपभोक्ता भने तरकारी तथा फलफूललगायत उपभोग्य वस्तुको अभाव र चर्को मूल्य वृद्धिको मारमा रहेका छन् ।

यस विषयमा बेलैमा प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी छ । किसानका समस्या समयमै समाधान भएन भने यसले पार्ने असर दीर्घकालीन हुन्छ । अधिकांश कृषक ६ महिना पुग्ने कृषि उत्पादनमा निर्भर भएका प्रदेशका जनताले उत्पादनमा कमी आउँदा आगामी दिन झन् खाद्य जोखिममा पर्नेछ ।

तसर्थ, उत्पादनलाई बजारमा पु¥याउने र कृषकलाई सर्वसुलभरुपमा आवश्यक मल, बिउको व्यबस्था गर्न संघीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र बागमती प्रदेश कार्यालय संयोजक कृष्ण गौतमले अनुरोध गर्नुभएको छ ।

मुख्य खाद्यबाली तथा तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको छ । किसानलाई सहजरुपले रासायनिक मल, प्रांगारिक मल र गुणस्तरीय बिउबिजन र सिचार्इंको व्यबस्था गर्नु राज्यको दायित्व हो । किसानलाई चाहिने मल, बीउबिजनलगायत कृषि सामग्रीमा अनुदान उपलब्ध गराउन आवश्यक रहेको उहाँले बताउनुभयो ।