भारतीय क्वारेनटाइनमा बसेका नेपाली स्वदेश फर्किन सरकारको आदेश कुर्दै

0
Shares

न्युज अफ नेपाल, भद्रपुर।

भारतको पश्चिम बङ्गालको विभिन्न क्वारेनटाइन र होम क्वारेनटाइनमा बसेका १०४ जना नेपालीहरू स्वदेश फर्किन सरकारको आदेश पर्खिरहेका छन् ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपाल – भारत सरकारले लकडाउनसँगै नेपाल–भारतको सीमा नाका अनिश्चितकालका लागि बन्द गरेपछि नेपालका विभिन्न जिल्लाका सर्वसाधरणहरु भारतीय क्वारेनटाइनमा बसिरहेका छन् ।

दुवै देशका सरकारले आ–आफनै देशमा राख्न भनी सहकार्य गरिसकेका छन् । सरकारको सोही निर्णय बमोजिम नेपालको पूर्वी नाका काँकडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा नेपालीहरू भारतीय क्वारेनटाइन तथा होम क्वारेनटाइनमा रहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

भारतमा कोरोना त्रास फैलिएसँगै अध्ययन तथा रोजगारीका लागि भारतमा रहेका उनीहरू स्वदेश फर्किन नसक्दा भारतीय सरकारले उनीहरूलाई क्वारेनटाइन तथा होम क्वारेनटाइनमा राखेको छ । काँकडभिट्टा–रानीगञ्ज (पानीट्यांकी) नाका भएर स्वदेश फर्किने क्रममा क्वारेनटाइमा राखिएकाको संख्या १०४ जना रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर पश्चिम बङ्गालमा रहेका नेपालीहरूको संख्या प्राप्त गरेको उहाँको भनाइ छ । उनीहरुको तथ्यांक झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई जानकारी गराइसकेको उहाँले जनाउँनुभयो ।

पश्चिम बंगालमा झापासहित इलाम, उदयपुर, कालीकोट, दैलेख, सुर्खेत, गोरखा, बाजुरा, डोटी, बाँके, कञ्चनपुरलगायत विभिन्न जिल्लाका नेपालीहरू रहेको प्रहरीलाइ प्राप्त भएको नामावलीमा उल्लेख छ । उनीहरूलाई त्यहाँका सरकारले हात्तीगिछा, बतासी, नक्सलबाडी, पानीटंकी, बागडोगरालगायतका क्वारेनटाइन तथा होम क्वारेनटाइनमा राखेको छ ।