बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

देशभित्र कोरोना भाइरसको संक्रमितको संख्या ५२ जना पुगेसँगै सरकारले यही वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । लकडाउनका कारणले गर्दा सम्भावित कोरोना संक्रमण फैलिनबाट रोकिएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको जनाएको छ । सरकारले यसअघि घोषणा गरेको लकडाउनको समयावधि वैशाख १५ गतेसम्मका लागि तोकेको थियो । सरकारले लकडाउनको समयसीमा थप गरेको यो चौथोपटक हो ।

यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्मका लागि लकडाउन गरेकोमा त्यसपछि बढाएर चैत २५ गतेसम्म पु¥याएको थियो । यसै गरी त्यसपछि पुनः वैशाख ३ गतेसम्म बढाएकोमा त्यसपछि पनि सरकारले वैशाख १६ गते अर्थात् भोलिसम्मका लागि लकडाउन गरेको थियो । योसहित नेपालमा ४५ दिन लकडाउन हुने निश्चित भएको छ ।

हालसम्म १६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यसै गरी सरकारले अन्तर्राष्ट्रिय सीमानाकामा वैशाख ३० सम्म आवागमन रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम नहोस् भनेर सीमानाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमानाकामा आवागमन रोकेको थियो ।