कोरोना जितरेर घर फर्किए वीरगन्जका चारजना संक्रमित

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज।

भारतका तीन जना मुस्लिम जमातीसहित रौतहटका एक युवक आइतबार कोरोना संक्रमणलाई जितेर अस्पतालबाट घर फर्किएका छन् । उनीहरुलाई पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो। चैत ३० गते कोरोना संक्रमण पुष्टि भएका ३ मुस्लिम जमाती र वैशाख २ गते रौतहटबाट नारायणी अस्पतालमा उपचार गर्न ल्याइएका एक युवक ठिक आइतबार घर फर्किएका नारायणी अस्पतालका मेसु डा मदन कुमार उपाध्ययाले जानकारी दिनुभयो ।

उनीहरुलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोरोना जित्न सफल भएको भन्दै फूलमालासहित बिदाइ गरेका छन्। कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था ठिक भएको र लगातार तीन पटकको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पनि नेगेटिभ आएको थियो।

डिस्चार्ज गरिएकामध्ये रौतहटका एक युवा र भारतका तीन जना मुस्लिम जमाती छन्। चार जना बिदाइ गरिए पनि आइतबारै अरु २ जनामा कोरोना संक्रमित नारायणी अस्पतालमा थपिएका छन्। नारायणी अस्पतालमा अझै तीन जना कोरोना संक्रमित रहेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित ‘मक्का जामे मस्जिद एतिमखाना डारुल यतामा इस्लामिया’ संक्रमित मुस्लिम बस्दै आएका थिए।

उनीहरुलाई अब वीरगन्जकै छपकैयास्थित इजगाहा छेउको ३ तले घरमा सुरक्षित राख्ने गरी बिदा गरिएको कमाण्ड पोस्ट पर्साले जनाएको छ। उनीहरुलाई स्थानीय मुस्लिम अगुवा र मुस्लिम आयोगका प्रतिनिधिको जिम्मा लगाइएको अस्पतालले पनि जनाएको छ।

वैशाख १ गते रौतहटमा कोरोना पुष्टि भएका रौतहटका युवकलाई पनि उनकै आफन्तको जिम्मा लगाई रौतहट नै पठाइएको नारायणी अस्पतालका मेसु डा उपाध्यायले बताउनुभयो । उनलाई सिटी हस्पिटल गौरको एम्बुलेन्समा राखेर आफन्तसँग रौटहट पठाइएको छ। रौतहटमा आइसोलेसन वार्डसहितको उपचार गर्ने अस्पताल नभएपछि ती युवकलाई पनि वैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो।