लकडाउन पछिको जीवन पहिले जस्तो नहुनसक्छ

0
Shares

 डा विश्वबन्धु शर्मा

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा विश्वबन्धु शर्मा करिव ३८ वर्षदेखि मानसिक रोगका विरामीको उपचारमा सक्रिय हुनुहुन्छ । मानसिक रोगको पहिचान, उपचार र परामर्शमा अब्बल मानिने डा. शर्मा हाल काठमाडौंको मेडिकेयर अस्पताल र अन्य केही क्लिनिकबाट विरामीलाई सेवा दिने गर्नुहुन्छ । उहाँले मानसिक रोगको विषयमा जनचेतना अभिवृद्धिका लागि विभिन्न सञ्चार माध्यममा लेखहरु लेख्नुका साथै पुस्तकहरु पनि प्रकाशन गर्नुभएको छ । गत वर्ष उहाँले लेखेको ‘मान्छेको मन’ नामक पुस्तक आज पनि उत्तिकै चर्चामा छ । प्रस्तुत छ हालको लकडाउन अवधिमा देखिनसक्ने मानसिक समस्या सम्बन्धमा डा शर्मासँग लक्ष्मण अधिकारीले गर्नुभएको कुराकानीको सार :

लामो समय उपचारको आवश्यक पर्ने मानसिक रोगका विरामीलाई एक महिनाभन्दा लामो लकडाउनले कस्तो असर पारिरहेको होला ?

यस अवधिमा आफ्ना सवै विरामीसँग सम्पर्क हुन नसके पनि सम्पर्कमा आएका विरामीमध्ये औषधि नियमित खाएर उपचार गरिरहेकाहरुमा खासै समस्या भइसकेको जस्तो लाग्दैन, तर उपचारबाट राम्रो भएर अव औषधि छोडे हुन्छ भन्ने अवस्थामा पुगिसकेका र उपचारले ठीक भई औषधि छोडेर नियमित काममा फर्किसकेकाहरुमा समस्या दोहोरिन थालेको पाइएको छ । लकडाउन हटिसकेपछि पनि विस्तारै यो समस्या चाहिँ दोहोरिदै जानसक्ने देखिएको छ ।

के कारणले यसरी रोग दोहोरिएको होला ?

साधारणतया लकडाउनपछि मानिसहरुको भविष्यमा अनिश्चितता देखिन थाल्यो । अव के हुँन्छ भन्ने त्रास उत्पन्न भयो । रोग त औषधि उपचारले, उसको आत्मबलले, संयमताले, डाक्टरको सल्लाह बमोजिमको पथपरहेजले निको भएको थियो । के कुरा गर्नुहुन्छ, के गर्नु हुँदैन भन्नेमा उ जानकार थियो । त्यसैअनुसार उसले आफ्नो जीवन अगाडि बढाइरहेको थियो । डाक्टरकहाँ जानु परेको थिएन, औषधि खानु परेको थिएन । यसले गर्दा उसको रोग निको भएसरह नै थियो ।

तर अहिलेको अवस्थामा कतिपयको व्यावसाय धरापमा परेको छ । कतिलाई अव पछि के गर्ने होला भन्ने समस्या पनि परिरहेको होला । लकडाउनले गर्दा कतिपयको व्यावसाय एकातिर, आफू एकातिर परिवार अर्कोतिर भएको होला । कतिपयको आप्mनो ब्यावसाय, मिहिनेतको प्रतिफल आउने बेला भएको थियो होला । त्यही बेलामा सम्पूर्ण ठप्प हुनेगरी लकडाउन भयो । त्यसले उनीहरुमा तनाव बढ्न थाल्यो र रोग बल्झिने स्थिति भयो । कारण अरु पनि होलान् तर लकडाउन एउटा प्रमुख कारण भएको छ ।

कोरोना भाइरसको त्रासले पनि यस किसिमको मानसिक रोग बल्झिने स्थित उत्पन्न हुन्छ कि हुन्न ?

निश्चय नै हुन्छ । मानिसमा कोरोनाले आफूलाई, परिवार, आफन्तलाई केही हुन्छ कि भन्ने डर छ । आँत्तिएर फोन गर्ने, अस्पताल आउने विरामीहरु पनि छन् । यो ठूलो समस्या त होइन तर महामारी जस्ता ठूला प्रकोप आउँदा मन कमलो तथा कमजोर भएकाहरुमा यस्तो समस्या देखिने गर्छ । मेडियाबाट विभिन्न जानकारी लिएका हुन्छन् ।

फलानोलाई लक्षण नै नदेखिई एकैचाटी परीक्षण गर्दा रोग देखियो । म पनि बाहिर गएको थिएँ, मलाई पनि भयो कि भनेर तर्कवितर्क गरेर चिन्ता गर्नेहरु पनि देखिन्छन् । अहिले अलिअलि जिउ तातो हुँदा, सामान्य खोली लाग्दा र कमजोरी हुँदा पनि कोरोना नै भयो कि भनेर आत्तिने प्रबृत्ति छ ।

रोग लाग्यो भने उपचार पाइदैन, बेड पाइदैन भनेर चिन्ता गर्ने, असुरक्षित महसुस गर्ने तनावमा पर्नेहरुमा फाट्टफुट्ट समस्या देखिएको छ । कहिलेकाहिँ अस्पताल जाँदा यस्तो समूहका विरामी भेटेको छु । पहिले पनि मलाई क्यान्सर भयो कि, एड्स भयो कि भनेर अनावश्यक चिन्ता गरेर मानसिक रोगी भएका यस समूहका विरामी अहिले अनावश्यकरुपमा कोरोना भयो कि भनेर मानसिक समस्यामा पर्न थालेका छन् ।

कोरोनाको त्रासबाहेक लकडाउनले नै पनि मानसिक समस्या सिर्जना गरिरहेको छ कि ?

कोरोनाभन्दा पनि यसको कारणले भइरहेको लकडाउनले जीवन लगभग ठप्प भएको छ । लकडाउन खोलेपछि पनि अव जीवन पहिले बन्द हुनु अगाडिको अवस्थाबाट सुरु हुन सक्तैन । आफ्नो व्यवहार, व्यवसाय र वरिपरिको बातावरणमा परिवर्तन आउँछ । जीवन नयाँ शिराबाट सुरु गर्नुपर्ने हुन्छ । अव त्यही अवस्थाको जीन्दगी हुँदैन ।

अहिले धेरै विशेषज्ञहरुले पनि यो महामारीले संसारमा दूरगामी असर गर्छ, कोरोना अघि र पछिको संसार फरक हुन्छ, त्यही अवस्थामा संसार फर्किदैन, नयाँ परिवेसमा जीवन जीउन सिक्नु पर्छ भनिरहेका छन् । यही अनिश्चिताले गर्दा मानिसलाई अर्को खालको मानसिक समस्या थपिइरहेको छ । यो एउटा प्रमुख समस्याका रुपमा देखिन लागेको जस्तो लाग्छ ।

लकडाउनले मानिसको जीवनमा पारिरहेका अरु प्रत्यक्ष असर के के हुनसक्छन् ?

लकडाउनमा भएपछि मानिसले सुरुमा जीवनमा नभएको नौलो अनुभूति गरे । गर्न नभ्याएका काम गर्ने, पढ्ने फिल्म हेर्ने, परिवारसँग वसेर राम्रोसँग खाने, कुराकानी गर्ने, भिडियो क्लिप र जोकहरु शेयर गर्ने, फोनमा कुराकानी गर्ने गरेर इन्ज्वय गरे । तर लकडाउन लम्बिदै जादा त्यसको असर देखिन थालेको छ ।

सुत्ने समयमा वास्ता नहुँदा निन्द्रामा गडबढी भएको छ । खाना बढी र हिँडडुल कम भएका कारण शरीरको तौल बढेको छ । टाइम टेवुल अनुसार चल्ने, डेडलाइनमा काम गर्ने, अनुसासित हुने आदि सवै जीवनशैली खलबलिएको छ । मानिसहरुमा छटपटी, बेचैनी सुरु हुन थालेको पाइएको छ । लकडाउन हटेपछि पनि यसको असर रहीरहन्छ ।

एउटा निश्चित गतिमा काम गरेर जीवन विताइरहेको मानिस एक डेढ महिनाको ब्रेकपछि त्यही गति लिन सक्तैन, त्यो स्थितिमा पुग्न समय लाग्छ । लामो लकडाउनमा मानिस विस्तारै सुष्त हुँदै जान्छ, उत्पादकत्व घट्छ । यो कार्य यति समयमा सिध्यानु पर्छ भन्ने भित्रै देखिको उत्साह र दवाव सिर्जना हुँदैन । काममा सुस्तता, ढीलासुस्ती र योजनाबद्ध काम नहुने जस्ता स्थितिले इनइफिसेन्ट बनाउँछ ।

जाँचको तयारी गरिरहेका कतिपय विद्यार्थीको परीक्षा रोकिएको छ, लकडाउनले फाइदा होला कि बेफाइदा ?

एसइइलगायत कैयौँ विद्यार्थीले परीक्षाको तयारी गरिसकेका थिए । एकातिरबाट हेर्दा परीक्षा रोकिदा उनीहरुले थप पढ्ने मौका पाए । तर राम्रो गर्नसक्ने कतिपय विद्यार्थीले अव राम्रो गर्न सक्तैनन् ।

किन भने परीक्षाको अन्तिम तयारी गरेर उर्जाका साथ उनीहरु रेडी भएर दौडमा जस्तै स्टार्ट मूडमा थिए । तर रोकिए पछि उनीहरु सुष्त हुन्छन् । कामको प्रावकारिता भनेको काम गर्नेको रेडिनेसमा भरपर्छ । भित्रदेखि आउने त्यो रेडिनेस र उत्साहरु अव आउन कठिन छ ।

लामो लकडाउनले ल्याउन सक्ने अन्य सामाजिक समस्याहरु के के हुन सक्छन् ?

हाम्रो मुलुकमा हाल भइरहेको लकडाउन सधैँ भइरहने खालको होइन । हामी यसका लागि मानसिक रुपमा तयार थिएनौ । यसले हामीले विचारै नगरेका सामाजिक असरहरु देखाउन सक्छ ।आठ नौ महिना पछि जन्मदर बढ्न सक्छ । परिवारमा व्यस्तताले सुषुप्त अवस्थामा रहेका असन्तोषहरु लकडाउनका समयमा लामो समय सँगै बस्दा विस्फोट भएका हुनसक्छन् । कतिपय मुलुकमा डिभोर्सका समस्या देखिन थालेका छन्, यहाँ पनि त्यो समस्या देखिन सक्ने बुझेको छु ।

अहिले मदिरा पिउने प्रबृत्ति बढेको सुनिएको छ । पहिला भोलिपल्ट काममा जानसक्ने गरी ठीक्क खाने मानिस पनि अहिले दिउँसै देखि टन्न खाने गरेको सुनिन्छ । यस्ता मानिसले लगातार एक महिना यसरी खान पाए भने मदिराको दुब्र्यसनीहरु बढ्न सक्छन् । लामो समय लकडाउन भइरहेमा अपराधिक समूह बढ्न सक्छन् । अहिले अपराध नियन्त्रण गर्न सुरक्षा निकायहरु मात्र होइन सामाजिक संरचनाहरु पनि सक्रिय छन् ।

समाज, आफन्त, संघसंस्था आदिले पनि अप्रत्यक्षरुपमा नियन्त्रण गरेका हुन्छन् । यी संरचना निस्क्रिय बनाएर राखेमा अपराध बढ्न सक्छ । अहिले नै पनि बन जंगल, बन्यजस्तु र बहुमुल्य जटिबुटी संकलन र तस्करी भइरहेको होला । यस्ता अवराध अन्यत्रतिर पनि हुनसक्छन । त्यसैले कोरोना कन्ट्रोल गर्छु भनेर मात्र हुन्न, पछि हुनसक्ने अन्य परिणामका वारेमा पनि सोचविचार गर्नुपर्छ ।

एकान्त वासले मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ भनिन्छ, कुनै फाइदा पुगेको छैन त ?

केही समय एकान्त वास बसेपछि मानिस मानसिक रुपमा चुस्त, स्वस्थ हुन्छ भन्ने धारणा छ । मौनताले सकारात्मक प्रभाव पार्छ भन्ने छ । तर यो मौनता वा एकान्त वास स्वेच्छाले तोड्न सक्ने, चाहेका बेला हिड्न सक्ने भए मात्र फाइदा हुन्छ । बाध्यताकारी मौनता वा एकान्तवास हानीकारक मानिन्छ । त्यही भएर जेलमा राख्ने मानिसलाई कडा सजाय दिनु परेमा एकान्तमा राखिन्छ ।

किन कि यो बढी पीडादायक हुन्छ । लकडाउन पुरै एकान्त वास त होइन तर सामाजिक दूरी कायम गरेर बस्नु पर्ने, काममा र आफूले चाहेअनुरुप घुमफिर गर्न, गेटुगेदर गर्न, सिनेमा, रेष्टुराँ जान नपाउने बाध्यताकारी नै छ । यसले मानसिक रुपमा फाइदा गर्दैन तर कति हानी गर्छ भन्ने हेर्न चाहिँ कुर्नुपर्ने हुन्छ ।

यहाँको विचारमा सरकारले अहिले तत्काल गर्नुपर्ने के हो त ?

अव लकडाउन विस्तारै खुकुलो पार्दै जानुपर्छ । कोरोना भाइरस लामै समय रहन सक्ने भएकाले लकडाउन अवधिमै पूरै निमिट्यान्न पार्छु भन्न अलि गाह्रै होला ।आहिले सरकारले समस्या बढी एकालाई प्राथमिकता दिनुपर्छ ।

बाटोमा अलपत्र परेकालाई उद्धार, सहयोग गर्नुपर्छ । विदेशका स्वदेसका क्वारेन्टाइनमा एउटै कोठामा पचासौँ जना दुखले बसेको देखिएको छ । रेमिटान्स ल्याएर मुलुक धान्नेहरु अलपत्र परेर बसेको कुरा आइरहेको छ । आउन चाहनेलाई ल्याउनुपर्छ । सिकिस्त विरामी भएकालाई उद्धार गरेर अस्पताल पु¥याउनुपर्छ ।

चिकित्सकको नाताले आम विरामीहरुलाई के भन्न चाहनु हुन्छ ?

मानसिक मात्र होइन लामो समय औषधि खानुपर्ने दीर्घ रोगीहरु जस्तोः मुटु रोगी , सुगरका विरामीहरु, दमका विरामी, थाइरोइडका विरामीहरुले डाक्टर भेट्न नसकेपनि हाललाई औषधि नियमित खाइरहनुपर्छ । इमर्जेन्सी परे सहयोग लिएर अस्पताल जानुपर्छ ।