भक्तपुरको जगाती नाका भएर ५४ हजार नागरिकले उपत्यका छाडे

0
Shares

पुष्करराज बुढाथोकी, भक्तपुर ।

कोभिड–१९ को संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको अबधीमा भक्तपुरको जगाती नाका भएर ५४ हजार नागरिकले उपत्यका छाडेर बिभिन्न जिल्ला गएका छन् । विगत चारदिन यता मात्रै ४० हजार भन्दा बढी नागरिक आफ्नो घर जाने भन्दै बिभिन्न जिल्ला फर्किएका छन् । लकडाउनको दोश्रो हप्ता पछि पैदल जानेहरुदेखि आजसम्म बसमा जानेहरु सबैको नाम र ठेगानासहितको रेकर्ड नभएपनि यो नाका भएर पूर्वका जिल्लाहरु जानेको लर्कोभने उत्तिकै छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार जगाती नाका भएर ५४ हजारभन्दा बढी नागरिकले उपत्यका छाडेर बिभिन्न जिल्ला गएका छन् ।स्थानीय सरकारको सहयोगमा यहाँका मजदुरदेखि बिभिन्न जिल्लाका नागरिकहरु जिल्ला फर्केका छन् ।

उहाँका अनुसार सबभन्दा धेरै दोलखा, रामेछाप, सिन्धुलीका नागरिक फर्किएका छन् भने त्यसबाहेक रोल्पा, रुकुम, जाजरकोट, सल्यान, दाङ्गलगायत अन्य जिल्लाका रहेका छन् । सुरुमा सूर्यविनायक नगरपालिका र प्रहरीको समन्वयमा हिडेर जाने यात्रुलाई जगाती मै रोकेर उनीहरुको तापक्रम नाप्ने र नाम ठेगानासहितको विवरण संकलन गरी बिभिन्न जिल्ला जाने गाडीहरुमा बेलुका पठाउने गरेको थियो । सरकारले नै घर पठाउने व्यबस्था गर्न भनेपछि स्थानीय तहकै पहलमा घर पठाउने व्यबस्था गरेको हो ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार मन्त्री, सांसददेखि सम्बन्धित जिल्लाका नेता एवं नगरपालिकाले आफ्ना ठाउँका नागरिकलाई उद्दार गर्ने भन्दै गाडी रिजर्भ गरेर लगेका छन् । धेरैले प्रहरीसंग समन्वय गरेपनि केही समन्वय नगर्दा तथ्यांक संकलनमा केही समस्या परेको छ ।

सूर्यविनायक नगरपालिकाका वडा नं. ८ का वडाअध्यक्ष किरण थापाले आफूहरुकै पहलमा खाना खुवाउने, ज्वरो नाप्ने र उनीहरुको रेकर्ड राखेर गाडीमा पठाउने गर्दा जगातीबाटै गाडीमा हालेर ३४ हजार भन्दा बढीलाई पठाएको बताउनुभयो ।त्यसबाहेक काठमाण्डौं, ललितपुर, भक्तपुरबाट रिजर्भ गाडीमा हालेर नेता, सांसद र मेयरहरुले पठाएका समेत गर्दा ५४ हजारभन्दा बढी नागरिक जगाती नाका भएर जिल्ला फर्किका छन् ।

उपत्यका छाडेर घर जानेहरुको ताती अझै घटेको छैन । हिजोसाँझसम्म रिजर्भ गाडीमा गइरहेको छन् भने आज पनि गाउँ फर्कने भन्दै जानेहरु जगातीमा रोकिएका छन् । उनीहरुलाई बेलुकासम्ममा गाडीमा हालेर पठाउने प्रहरीले तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले रुकुम, रोल्पा र जाजरकोटका व्यक्तिलाई गाडी रिजर्भ गरी पठाएपछि अन्य स्थानीय तहले पनि बस रिजर्भ गरेर आफ्ना स्थानीयलाई फिर्ता लगेका छन् । घर जाने क्रममा सबैको स्वास्थ्य परीक्षण हुन नसक्दा र विदेशबाट फर्किएकाहरु पनि गाउँ फर्किएकाले कोरोना भाइरसको जोखिम भने गाउँमा पनि बढाएको बताइएको छ ।