शुक्रराज र गणेशमानलाई प्रारम्भ र आनीद्वारा पीपीई सहयोग

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ।

विश्वलाई नै आक्रान्त पार्दै फैलिएको कोरोना भाईरसका कारण संक्रमितको उपचारका लागि अग्र पंक्तिमा उभिनुपर्ने चिकित्सक, नर्स, ल्याब, प्राविधिक, एम्बुलेन्स चालक, अस्पताल व्यवस्थापकहरु व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को कमी भएर छटपटाई रहेको अवस्थामा पिपिई उपलब्ध गराउन प्रारम्भ नामक गैह्रसरकारी संस्था र गायिका आनिको टोली कस्सिएर लागेको छ ।

विश्वमा जुन अवस्थाको सृजना भएको छ नेपालमा त्यस्तो नहोस भन्दै नेपाल सरकारले समयमै सचेतना अपनाई लकडाउन गरेसँगै सुस्त गतिमा देखिएको कोरोना भाईरसको संक्रमण र यसको प्रभाव यसै हप्ताबाट ह्वात्तै बढेको छ । बिहिवार सम्म संक्रमितको संख्या ४८ पुगिसकेको छ ।

पहिला संक्रमण भएका व्यक्तिहरु धमाधम निको भएर घर फर्किदै छन् । कोरोनाले ल्याएको त्रासकै कारण धादिङका एक युवालाई निको हुँदा समेत आफन्तले अस्पतालमा लिन आएनन र स्थानिय व्यक्तिको जिम्मामा दुई दिन ढिलो गरि उनलाई घर फर्काईयो ।

यतिबेला मुलुक लकडाउनमा छ, स्वास्थ्य सामग्रीको अभाव छ उदयपुरको जुन क्षेत्रमा कोरोना संक्रमण फैलिएको छ ती क्षेत्रमा सामानको अभावकै कारण परिक्षण रोकिने अवस्था सृजना भैसकेको अवस्थामा आवश्यक सामगी्रको व्यवस्थापनका लागि सरकार र गैर सरकारी निकायहरु सक्रिय भएर लागेका छन् ।

यहि सक्रियतालाई साथ दिँदै प्रारम्भ नामक सामाजिक संस्था र गायिका आनी छोयिंग डोल्माले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागी २५ थान पीपीइ सेट उपलब्ध गराएका छन् ।

सहयोगी अभियानलाई प्रारम्भका अध्यक्ष कल्पना क्षेत्रि तथा आनी छोयिंग डोल्मा फाउन्डेसनका अध्यक्ष समेत रहेकी गायिका डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले शुक्रराज ट्रपिकलका निर्देशक डा सागर राजभण्डारीलाइ उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यी संस्था तथा समाजसेवीहरुले ललितपुर स्थित गणेशमान सिंह अस्पतालका लागि पनि १० थान पीपीइ सेट सहयोग गरेको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबू महर्जनले बताउनुभयो । गणेशमान सिंह अस्पताल ललितपुर महानगरपालिकाले आइसोलेशन तथा क्वारेन्टाइनका लागि छनौट गरेको अस्पताल हो ।

विभिन्न स्थानीय तह र अस्पतालहरुसंगको समन्वयमा सहयोग गरिरहेको प्रारम्भले उपलब्ध गराएका सामग्रीमा पीपीइ ड्रेस, एन९५ मास्क, ग्लब्स, गमबुट, फेसशिल्ड, सर्जिकल मास्क तथा ह्यान्ड सानी टाइजर रहेका प्रारम्भका अध्यक्ष क्षेत्रीले जानकारी गरानउँनुभयो ।
प्रारम्भले हालसम्म शुक्रराज ट्रपिकल तथा गणेशमान सिंह अस्पतालका अलावा त्रीबी शिक्षण अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, बनेपा अस्पताल, पाटन अस्पताल तथा शिर मेमोरियल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।

प्रारम्भका प्रोजेक्ट डाइरेक्टर तिमल्सिनाका अनुसार संस्थाले पहिलो चरण राजधानी र आसपासका अस्पतालमा सामग्री उपलब्ध गराउदै दोश्रो चरणमा आनी छोयिंग डोल्मा फाउन्डेसन संगको सहकार्यमा परोपकारी कार्य गरिरहेको हो ।

दुई संस्थाको संयोजन पछि दैलेख जिल्लाका सबै स्थानीय तहका लागि स्वास्थ्य सामग्री पठाइएको र आफुले सकेको मद्दत गर्न फिल्डमा आएको गायिका आनी छोइङ्ले बताउनुभयो । उहाँ भन्नुहुन्छ—‘रोगको महामारी र असहज परिस्थितिमा यातिबेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीप्रति आफु धेरै गम्भीर भएको र उहाहरुको सुरक्षाको निम्ति थोरै भएपनि सारथी बन्न सकूँ, हाम्रो उधेश्य यत्ति हो ।’

प्रारम्भको क्रियाकलापबाट प्रभावित भए र संस्थागत सहकार्य गरेर कल्याणकारी कार्य गर्न पाउदा आफुलाई मनमा आनन्द लागेको छ ।
चरणबद्ध कार्यक्रममा अग्रसर यी दुइ संस्थाले तेश्रो चरणमा विभिन्न जिल्लामा आवश्यकता हेरेर स्वास्थ्य सामग्री पठाउने तयारी गरिरहेको प्रारम्भ संस्थाकी अध्यक्ष क्षेत्रि बताउँनुहुन्छ । उहाँ सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि समेत हुनुहुन्छ ।