थप २ जनामा कोरोना संक्रमण, पेप्सिकोलाका दुईले जिते कोरोना

0
Shares

काठमाडौं, (नेस) ।

बिहीबार उदयपुर र जनकपुरका २ व्यक्तिमा कोरोना संक्रमण प्रमाणित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको पछिल्लो अपडेटबारे जानकारी दिँदै प्रवक्ता डा. विकास देवकोटाले थप दुईलाई कोरोना पुष्टि भएको जानकारी गराउनुभएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षण क्रममा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षका एक युवामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

यति बेला नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । यसमा उदयपुरमा मात्र २७ जना छन् । अहिलेसम्म निको भएर अस्पतालबाट घर फर्कनेको संख्या पनि बढ्दै छ । बिहीबारसम्म ९ जना उपचारपछि निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ४३ हजार २ सय ७७ जनामा कोरोना परीक्षण भइसकेको छ । जसमा क्वारेन्टाइनमा १० हजार ५ सय ७३ जना र आइसोलेसनमा ८६ जना रहेका छन् ।

पेप्सिकोलाका दुईले जिते कोरोना

पाटन अस्पतालमा उपचाररत पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालबाट बिहीबार डिस्चार्ज भएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले पाटन अस्पतालमा उपचाररत सनसिटी अपार्टमेन्टका दुई संक्रमित निको भएर डिस्चार्ज भएको बताउनुभयो ।

डा. देवकोटाका अनुसार हालसम्म ४३ हजार २ सय ७७ जनामा कोरोना परीक्षण गरिएको छ । तीमध्ये क्वारेन्टाइनमा १० हजार ५ सय ७३ र आइसोलेसनमा ८६ जना रहेका छन् ।

पेप्सिकोला सनसिटीमा कोरोना प्रमाणित भएका व्यक्ति गत चैत ५ मा बेलायतबाट नेपाल आएका आमा, छोरा र बुहारीमा आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा आमा र छोरालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने बुहारीमा संक्रमण प्रमाणित भएन ।

संक्रमित आमा, छोरालाई बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । योसँगै नेपालमा निको भएका संक्रमित संख्या नौ पुगेका छन् ।