लकडाउनले ११ सडक आयोजनाको काम प्रभावित

0
Shares

सुरेश तामाङ, काठमाडौं

मुलुकभर जारी बन्दाबन्दीको अवधिमा विकास आयोजनाका कामलाई सञ्चालनका लागि खुकुलो वातावरण बनाए पनि विकास निर्माणको कामले भने अझै पनि तीव्रता लिएको छैन ।

यसको असर काठमाडौं उपत्यकाभित्रका विस्तार हुँदै गरेको विभिन्न सडक योजनामा परिरहेको छ । विकास निर्माणका लागि लकडाउन खुकुलो पारिए पनि यस बेला मजदुर, निर्माण सामग्रीलगायतको अभावका कारण काम गर्न नपाएको काठमाडौं उपत्यका सडक विस्तार योजनाले जनाएको छ ।

काठमाडौं उपत्यकाको ११ वटा सडक योजनाको काम प्रभावित बनेको योजना प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘लकडाउनले गर्दा योजनाको अधिकांश काममा असर सडक गरिरहेको छ । मजदुर घर गइसकेका छन् । निर्माण सामग्री छैन । यस्तै अवस्थाले गर्दा केही सडकबाहेक अन्यको काम प्रभावित बनेको छ ।’ –उहाँले भन्नुभयो ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी–साँखु, जोरपाटी–सुन्दरीजल, इमाडोल–लुभु–लामाटार, ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले, कर्मनासा–हरिसिद्धि–गोदावरी, नख्खुखोला–भैंसेपाटी–बुङमतीलगायत ११ सडकमा विस्तार भइरहेको थियो । लकडाउनले गर्दा निर्माण सामग्री बाँकी रहेको र मजदुर रहेको सडकको काम सरकारको निर्देशनपछि शुरू भएको योजनाले जनाएको छ ।

योजनाका इन्जिनियर लक्ष्मण देवकोटाले जोरपाटी–सुन्दरीजल, इमाडोल–लुभु–लामाटार र ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेलेको मात्रै विस्तार बाँकी काम शुरू भएको बताउनुभयो । सुन्दरीजलमा ह्युमपाइप हाल्ने काम, लेले सडकको जंगलमा कटिङ र पर्खालको काम शुरू भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै निर्माण सामग्री र मजदुर भए पनि कुनै सडकमा स्थानीयको अवरोधका कारण सडक विस्तारको काम हुन नसकेको योजनाका इन्जिनियर लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।

चाबहिल–जोरपाटी सडकको काम गर्न ठेकेदार तयारी भई मजदुर लिई काम गर्न जाँदा स्थानीयले कोरोनाको संक्रमण बढ्ने भन्दै काम गर्न नदिएको उहाँले बताउनुभयो । ‘कोरोना भाइरसको संक्रमणका कारण सबै आक्रान्त छन् । यही बेला ठेकेदार मजदुर लिएर बौद्ध–जोरपाटी सडकमा काम गर्न जाँदा स्थानीयको अवरोध आयो । सहज वातावरण नभए काम गर्न सकिन्नँ ।’ –उहाँले भन्नुभयो ।

यस सडकको काम ५५ देखि ७० प्रतिशतसम्म सम्पन्न भइसकेको छ । असार मसान्तसम्म यस सडकको चाबहिलदेखि साँखुसम्म पँरै सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । पाँच ठेक्का लागेको यस सडकमा एउटा ठेक्का सम्पन्न भइसकेको छ ।

वर्षात्मा हिलो र खाल्डाखुल्डीमा जमेको पानी र घाम लाग्दा दुलोका कारण यात्रा गर्नेलाई सकस पारेको थियो । भलै यस सडक कालोपत्रे नभए पनि खाल्डाखुल्डीको सकस भने यात्रुले भोग्न नपर्ने गरी काम भएको योजनाले जनाएको छ ।

अब यी सडक योजनाको काम वर्षात् अवधि सकिसकेपछि मात्रै शुरू हुने योजनाले जनाएको छ । ‘चैत–वैशाख महिना विकास निर्माणको काम गर्ने उत्तम अवधि थियो । यही अवधिमा लकडाउन भइदियो । वर्षा पनि शुरू भइसकेको अवस्था छ । अब वर्षात्को महिना सकेपछि मात्रै काम शुरू होला जस्तो छ ।’ –इन्जिनियर देवकोटाले बताउनुभयो ।

योजनाले त्रिपुरेश्वर–कलंकी–नागढुंगामा ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जनाएको छ । यसबाहेक १० देखि ७० प्रतिशतसम्म मात्रै काम सम्पन्न भएको योजनाको दाबी छ । यी सडक २०७१ देखि ०७४ सालदेखि ठेक्का लागेका सडकहरू हुन् ।