५ रुपैया किलो पनि टमाटर बिकेन, लकडाउनका कारण तरकारी खेतमै सुक्यो

0
Shares

सरोज यादव, मोरङ। 

लकडाउनका कारण उत्पादित तरकारी बजारसम्म पु¥याउन नपाउँदा खेतमै सुकेर नष्ट हुन थालको छ । महँगो ब्याजमा ऋण लिएर उत्पादन गरेको तरकारी बोटमै सुक्न थालेपछि मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका किसान चिन्तित भएका छन् । सरकारले आह्वान गरेको लकडाउन एक महिना पूरा भएको छ । प्रभावलाई ख्यालै नगरी सोलोडोलो लकडाउन गर्दा किसानले उत्पादन गरेको तरकारी बोटमै कुहेर नष्ट भएको छ ।

लाखौं रुपैयाँ लगानी गरेर उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन नपाएपछि बोटमै नष्ट भएको हो । मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका लगाएको टमाटार, काँक्रा, कोबी, बैगनलगायतका तरकारी नष्ट हुन थालेको छ । कुहिन थालेपछि लागतभन्दा एकदमै कम मूल्यमा तरकारी बिक्री गर्न उनीहरु बाध्य भएका छन् । उत्पादित तरकारी बजारसम्म पु¥याउन सरकारले सहजीकरण नगर्दा लाखौं रुपैयाँ लगानी डुब्ने अवस्था सिर्जना भएको स्थानीय किसान रामुदय सिंहले गुनासो पोख्नुभयो ।

सिंहले ३ बिघा क्षेत्रफलमा टमाटर खेती गर्नुभएको छ । टमाटर खेती गर्दा कठ्ठामा २५ देखि ३० हजार रुपैयाँसम्म लगानी भएको उहाँले बताउनुभयो । तर, बजारसम्म पु¥याउन नपाउँदा लगानीसमेत नउठ्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । लकडाउनका कारण नोक्सानी बेहोरेका किसानलाई सरकारले राहत दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले बिमाको समेत व्यवस्था गर्न माग गर्नुभयो ।

सरकारले किसानको जीवनस्तर माथि उठाउने कुनै पनि नीति अघि सार्न नसकेको उहाँले गुनासो पोख्नुभयो ।अर्का किसान रमेशप्रसाद सिंहले बालिको बिमा नहुँदा लकडाउनमा किसानले धेरै क्षति व्यहोर्नुपरेको बताउनुभयो । यतिबेला प्रतिकलो ५ रुपैयाँमा पनि टमाटर बिक्री हुन नसकेको उहाँको गुनासो छ । यसका लागि सरकारसँग बजार व्यवस्थापन गर्न कृषक सिंहले माग गर्नुभयो । सिंहले १ बिघा क्षेत्रफलमा टमाटर खेती गर्नुभएको छ ।

कृषि उत्पादनलाई बजारसम्म निर्वाध रुपमा पु¥याउन दिनुको सट्टा सरकारले उल्टै किसानलाई दुःख दिने गरेको उनीहरुको भनाइ छ । बजारसम्म तरकारी पु¥याउने वातावरण मिलाइदिन तीनै तहको सरकारसँग स्थानीय किसान मन्जयकुमार सिंहले आग्रह गर्नुभयो । उहाँले स्थानीय साहु र बैंकबाट लिएको ऋण समेत तिर्न नसकिने अवस्था आएको बताउनुभयो । उहाँले २ बिघामा टमाटर खेती गर्नुभएको छ ।

सरकारले उचित स्वास्थ्य सुरक्षा अपनाएर कृषि उत्पादनलाई बिक्रीको प्रबन्ध मिलाउन नसकेको अर्का किसान विनोद सिंहले गुनासो गर्नुभयो । टमाटर खेती गर्दा कठ्ठामा २५ हजार रुपैयाँभन्दा बढी लगानी भएको उहाँ बताउनु हुन्छ ।

सरकारले बालिको विमा नगरिदिँदा ५ रुपैयाँ किलो टमाटर र ३ रुपैयाँ किलो बन्दा कोबी किन्ने मान्छे पनि नभेटिएको उहाँले बताउनुभयो । उहाँले १ विघा १० कठ्ठा खेतमा टमाटर खेती गर्नुभएको छ । यहाँ उत्पादित तरकारी काठमाडौं, पोखरा, बुटवल, भैरहवालगायतका सहरमा लाने गरिएको थियो । नयाँबजारमा मात्रै १ सय बिघाभन्दा बढी क्षेत्रफलमा टमाटर खेती गरिएको छ ।