ललितपुर महानगरपालिका प्याबसन र अलार्म नेपाले गर्‍यो राहत सामग्री हस्तान्तरण

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका प्याबसन र ललितपुर जिल्लामा रहेका विभिन्न विद्यालयमा कार्यरत प्रिन्सिपलहरुको समूह अलार्म नेपालले बुधबार ललितपुर महानगरपालिकालाई संयुक्त रुपमा राहत सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनका कारण गुजारा चलाउन मुश्किल भएकालाई ललितपुर महानगरपालिकाद्धारा प्रदान गर्न गरी यी दुई संस्थाले राहत साम्रगी हस्तान्तरण गरेका हुन् ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र सामाजिक विकास समितिका संयोजक तथा वडा नं २४ का वडा अध्यक्ष दिनेश कार्कीलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

ललितपुर महानगरपालिका प्याब्सनले दिएको राहत सामग्रीमा एक हजार दुई सय किलो चामल, एक सय पोका नून, ५० किलो दाल, एक सय प्याकेट भटमासको तेल रहेको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी अलार्म नेपालले चामल एक हजार पचास किलो, नुन एक सय पोका, दाल पचास केजी र दुई सय पिस हात धुने साबुन प्रदान गरेको उल्लेख छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामलागि महानगरले सुरुका दिनदेखि महानगरको क्षमता अनुसार काम गरिरहेको बताए । विषम परिस्थितिमा साथ दिन अनुरोध गर्दै सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

ललितपुर महानगरपालिका प्याब्सन अध्यक्ष रामबाबु अधिकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै राहत हस्तान्तरण गरेको बताए । सामाजिक विकास र शैक्षिक उन्नयनका लागि महानगरपालिकासँग ललितपुर महानगरपालिका प्याबसन हातेमालो गर्न तत्पर रहेको स्पष्ट पारे ।

त्यसैगरी अलार्म नेपालका अध्यक्ष कन्हैया सिंह कुवँरले महानगरपालिकाभित्र बसोबास गर्ने र विपन्न र निम्न स्तरका अभिभावक, एंव विद्यार्थीको परिवारमा समेत वडा मार्फत राहत पुग्ने विश्वास व्यक्त गरे ।

प्याबसन केन्द्रिय कार्यसमितिका केन्द्रीय सल्लाहकार तथा अलार्म नेपालका संरक्षक विमल थापाले स्थानीय तहलाई सहयोग गर्नु र साथ दिनु सबैको कतव्र्य भएको बताए ।