म्यान्मारमा डब्ल्यूएचओका ड्राइभर मारिए

0
Shares

याङ्गुन, (एजेन्सी) ।

म्यान्मारको द्वन्द्वग्रस्त क्षेत्रमा कोभिड–१९ परीक्षण नमुना संकलन गर्ने क्रममा विश्व स्वास्थ संगठन ( डब्ल्यूएचओ ) का एक ड्राइभरको हत्या भएको छ ।

रखाइन राज्यमा संयुक्त राष्ट्रसंघको सवारीसाधन चलाएर जाँदै गर्दा प्याय सोने विन माउँग नामक उनको गोली लागेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले पछिल्ला केही साताभित्र सरकारी सेना र सशस्त्र जातीय समूह आराकान आर्मीबीच भिडन्त हुँदा दर्जनौं सर्वसाधारणको ज्यान गएको जनाएको छ । सोमबार भएको ड्राइभरको यस हत्याका लागि दुवै पक्षले एकअर्कालाई दोषारोपण गरेका छन् ।

म्यान्मारका सैनिक प्रवक्ता मेजर जनरल तुनतुन न्यीले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई भनेका छन्– ‘हाम्रो फौजले संयुक्त राष्ट्रसंघको सवारीसाधनमा आक्रमण गुर्नको कुनै कारणै छैन । तिनीहरुले हाम्रो देशका लागि काम गरिहेका छन् । तिनीहरूप्रति हाम्रो जिम्मेवारी रहेको छ ।’

म्यान्मारस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले मिनव्या शहर नजिकको सैनिक जाँचचौकीनजिकै २८ वर्षीय ड्राइभरको हत्या भएकोमा गहिरो समवेदना प्रकट गरेको छ ।

बौद्ध सम्प्रदायका आराकन आर्मी समूहले विगत दुई वर्षदेखि स्वायत्त शासनको माग गर्दै संघर्ष शुरु गरेको थियो । हालै यसले लागू गरेको एकमहिने युद्धविराम सरकारले अस्वीकार गरेको थियो । म्यान्मारमा कोरोना भाइरसका कारण चार जनाको ज्यान गइसकेको छ भने असी जनाभन्दा बढी संक्रमित भेटिएका छन् ।