यूरो कपको लोकप्रियता


कविरस शर्मा

विश्वब्यापी फैलिएको कोराना भाइरस ९कोभिड–१९० का कारण संसारले अहिले मानवीय संकटको सामना गरिरहेको छ। विश्वका दुई सयभन्दा बढी देश कोरानाको चपेटामा परिसकेका छन्। संक्रमितहरुको संख्या पनि प्रत्येक दिन बढिरहेको छ। जसका कारण विश्वभरिका झन्डै साढे दुई अर्ब मान्छेले एकैपटक लक डाउनको मार खेपिरहेका छन्। कुनै पनि क्षेत्र यसबाट अछूटो छैन।

अनि खेल क्षेत्रपनि प्रभावित नहुने कुरै भएन। कोरोना त्रासका कारण यो वर्ष तय भएका थुप्रै प्रतिष्ठित खेल प्रतियोगिता स्थगित र रद्द भईसकेका छन्। जसमध्येको एउटा यूरोकप पनि हो। फिफा विश्वकपपछि सर्वाधिक चर्चित फुटबल प्रतियोगिताबाट परिचित छ यूरोकप। यसै वर्षको जुन १२ देखि जुलाई १२ सम्म आयोजना गर्ने मिति तोकिएको यूरो कप २०२० कोरोना भाइरसका कारण एक वर्ष सरिसकेको छ।

यसपटक यूरो कप सुरुवात भएको ६० वर्षको अवसर पारेर पहिलो पटक युरोपका १२ देश (डेनमार्क, हंगेरी, आयरल्याण्ड, नेडरल्यान्ड्स, रोमानिया, स्कटल्यान्ड, स्पेन, अजरबैजान, जर्मनी, इटाली, रसिया र इंग्ल्यान्ड) मा संयुक्त रुपमा आयोजना गर्ने तय भएको थियो। तर अहिले एक वर्ष पछाडी सरेपछि संयुक्त रुपमा आयोजना गर्ने सूचीमा रहेका कतिपय देशहरुले असमर्थता जनाउने प्रबल सम्भावना बढेको छ। मुख्यतः इटाली, स्पेन र इंग्ल्यान्डले आयोजक सूचीबाट नाम फिर्ता लिने सम्भावना छ।

यूरोकप मात्र होइन, यसै वर्ष हुनुपर्ने विश्वकै पहिलो महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिका पनि कोरानाकै कारण एक वर्ष सरिसकेको छ। कोपा अमेरिका फुटबलभन्दा ४४ बर्ष कान्छो भएपनि तुलनात्मक रूपमा यूरोकपको दायरा अन्य महादेशीय फुटबल प्रतियोगिताहरुको भन्दा फराकिलो नै छ। फुटबलको सन्दर्भमा यूरोपलाई पावरहाउस भन्दा फरक नपर्ला।

ब्यापक आर्थिक लगानी र प्रचार–प्रसारको स्तरियताका कारण पनि अन्य महादेशीय फुटबल प्रतियोगितालाई अहिले यूरो कपले उछिनेको छ। फिफा विश्वकपमा खेल्ने धेरै जसो राष्ट्रहरु सहभागी हुने कारणले पनि यूरोकपले विश्वका अधिकांश फुटबलप्रेमीहरुको ध्यान तान्न सफल हुँदै आएको छ। सन् २०१६ देखि यूरोपेली फुटबल महासंघले यूरोकपको अन्तिम चरणमा सहभागी हुने टोली संख्या बढाएको हो । सहभागी राष्ट्रको संख्या १६ बाट २४ पुर्याएको हो।

युरोपेली फुटबल महासंघले पछिल्लो पटक जारी गरेको तथ्याङ्क अनुसार सन् २०१६ मा सम्पन्न यूरोकप सम्पूर्ण ५१ खेलको दर्शक संख्या ५ बिलियन रहेको जनाएको थियो। जसमध्ये फ्रान्स र पोर्चुगलबीच भएको फाइनल मात्रै ६ सय मिलियन दर्शकले हेरेको उल्लेख छ। उक्त तथ्यांकमा रंगशालामा उपस्थित दर्शकसहित संसारभर विभिन्न सञ्चार माध्यममार्फत् म्याच हेर्ने दर्शकलाई जोडिएका छन। सहभागी राष्ट्रको संख्या बढाईएपछि सन् २०१२ मा भन्दा २०१६ मा २० म्याच बढी खेलाइएको थियो। जसका कारण १।१ बिलियन दर्शक संख्या बढेको तथ्यांकले देखाएको छ।

त्यसअघि सन् २०१२ को यूरोकप अन्तर्गत ईंटाली र स्पेनबीचको फाईनललाई आधिकारिक टेलिभिजन प्रसारणमार्फत् मात्रै विश्वभर २ सय ९९ मिलियन दर्शकले हेरेको बताइएको थियो। यस्तै सन् २००८ मा स्पेन र जर्मनीबीच सम्पन्न फाईनलमा दर्शक संख्या २ सय ३७ मिलियन रहेको थियो। अमेरिकी टेलिभिजन संस्था ईएसपीएनको तथ्याङ्कलाई हेर्ने हो भने सन् २००८ भन्दा सन् २०१२ मा १ सय ४२ प्रतिशतले दर्शक संख्या वृद्धि भएको देखिन्छ। सामाजिक सञ्जालकै आकंडालाई मात्र मूल्यांकन गर्ने हो भने पनि सन् २०१२ मा हरेक सेकेन्ड सात पटक यूरोकप सम्बन्धित ट्वीट हुने गरेको जनाइएको थियो। जसमध्ये फाइनलमा इटालीविरुद्ध स्पेनले चौथो गोल गर्दा त झन् प्रत्येक सेकेन्ड १५ हजार ट्वीट भएको बताइएको थियो।

यूरोकप विजेताहरु

अहिलेसम्म यूरोकपको उपाधि १० राष्ट्रले मात्र जितेका छन्। जर्मनी र स्पेन यूरोकपको सर्वाधिक सफल राष्ट्रहरु हुन्। प्रतियोगिताको यसअघिका १४ संस्करण मध्ये जर्मनीले सर्वाधिक ६ पटक फाईनल खेलिसकेका छन्। जसमा जर्मनी समान तीन–तीन पटक विजेता र उपविजेता बनेका थिए। जर्मनीले सन् १९७२, १९८० र १९९६ गरी तीन पटक यूरोकप फुटबलको उपाधि उचालेका छन्।

यस्तै सन् १९७६, १९९२ र २००८ मा भने जर्मनी उपविजेतामै सिमित बन्न पुगे। यता स्पेनले यूरोकपको फाईनल चार पटक खेल्दा तीन पटक मात्र उपाधि हात पारेका छन्। स्पेनले सन् १९६४, २००८ र २०१२ गरी तीन पटक यूरोपियन च्याम्पियनशिपको उपाधि जितेका छन्। स्पेन लगालग दुई संस्करणको उपाधि जित्ने एक्लो टोली समेत हो। त्यस्तै फ्रान्सले यूरोकपको उपाधि दुई पटक जितेका छन्।

फ्रान्स सन् १९८४ र २००० गरी दुई पटक यूरोपियन च्याम्पियन बनेका थिए। गत संस्करणमा भने फ्रान्स आफ्नै घरेलु मैदानमा उपविजेतामा सिमित बनेका थिए। त्यस्तै सन् १९६० मा तत्कालीन सोभियत संघ, १९६८ मा ईंटाली, १९७६ मा चेक रिपब्लिक, १९८८ मा नेदरल्यान्ड्स, १९९२ मा डेनमार्क, २००४ मा ग्रीस र २०१६ मा पोर्चुगलले समान एक–एक पटक उपाधि उचालेका छन्।