अलपत्र यात्रु स्वास्थ्य परीक्षणपछि गन्तव्यतर्फ

0
Shares

रोशन पराजुली,हेटौंडा ।

काठमाडौंबाट पैदल आएका मजदुरलाई भीमफेदी गाउँपालिकाबाट गन्तव्यतर्फ पठाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी गाउँपालिका र हरिवन नगरपालिकासँग समन्वय गरेपछि उनीहरुलाई गन्तव्यमा पठाइएको हो । उहाँले प्रदेश सरकारले अलपत्र परेका सबै यात्रुको मानवीयढंगमा व्यबस्थापन गर्ने बताउनुभयो ।

पौडेलले यात्रुसँग कुराकानी गर्दै विभिन्न सुझाव दिनुभयो । उहाँले घर फर्केर कृषि उत्पादनमा लाग्न सल्लाह दिनुभयो । निर्माणाधीन भीमफेदी–कुलेखानी सडक निरीक्षण गरी फर्कने क्रममा भीमफेदीमा रहेका पैदल यात्रीलाई गन्तव्यमा पठाउन बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले गाउँपालिका अध्यक्ष हिदम लामालाई गाडीको व्यबस्था गर्न भन्नुभएको थियो ।

सर्लाही हरिवनका यात्रुलाई लैजान सहजीकरणका लागि हरिवन नगरपालिका मेयर गणेश प्रसाईंलाई मुख्यमन्त्री पौडेलले फोन गर्नुभएको थियो । काठमाडौंका विभिन्न स्थानमा मजदुरी गर्ने मकवानपुरको कैलाश गाउँपालिका र सर्लाहीको हरिवनका पैदल यात्रुलाई जानका लागि गाउँपालिकाले यातायातको व्यबस्था गरेकोे थियो ।

मकवानपुरको कैलाश गाउँपालिकाका १० जना चेपाङ मजदुरलाई भीमफेदी गाउँपालिकाले यातायातको व्यबस्था गरी गन्तव्यमा पु¥याएको छ । सर्लाही जाने ५ जनाको टोलीलाई गाउँपालिका अध्यक्ष लामाले गाडीमा पथलैया पठाउनुभएको थियो ।हरिवन नगर मेयर प्रसाईंसँग समन्वय गरेपछि हरिवनबाट लिनका लागि यातायात व्यबस्था गरिएको भीमफेदी गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौंमा खान समस्या पर्न थालेपछि घर हिँडेको मजदुरहरुले बताए ।
घर जान उनीहरु विहान ५ बजे काठमाडौंबाट हिँडेर दिउँसो करिब ४ बजे भीमफेदी आइपुगेका थिए । उनीहरुलाई गाउँपालिकाले स्थानीय दम्की रक्स क्लबको समन्वयमा खानाको व्यबस्था गरेको छ ।

लकडाउनका कारण हिँडेर आएर अलपत्र परेका सबै पैदल यात्रुलाई खानाको व्यबस्था गरेर गन्तव्यमा पु¥याइने लामाले जानकारी दिनुभयो । धादिङबाट सर्लाहीको लालबन्दी नगरपालिकासम्म जानको लागि हिँडेका पैदल यात्रीलाई थाहा नगरपालिकाले यातायातको व्यबस्था गरेकोे छ ।उनीहरुलाई मकवानपुर जिल्ला सीमा चुरियासम्म यातायातको व्यबस्था गरेर पठाइएको नगर प्रमुख लवशेर बिष्टले जानकारी दिनुभयो ।

उनीहरुलाई तीन वटा गाडीमा राखेर पठाइएको हो । त्यहाँँदेखि घरसम्म पु¥याउन लालबन्दी नगरपालिकाले गाडी पठाउने व्यबस्था गरिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिए । प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा पैदल यात्रीहरुलाई गाडीमा मकवानपुरको चुरियासम्म पु¥याउन लागिएको प्रमुख बिष्टले बताउनुभयो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि घर जान हिँडेका १ सय एकजना उनीहरु वैशाख ५ गते साँझ थाहा नगरपालिका–९, चित्लाङ आइपुगेका थिए । १६ बालबालिकासहित आएका उनीहरुलाई बेलुकको खाना र बासको व्यबस्था थाहानगरले गरेको थियो । उनीहरु धादिङ जीवनपुरको विभिन्न ईंट्टाभट्टामा काम गर्ने मजदुर भएको बताइएको छ ।

चित्लाङमा खाना, बासको र वैशाख ६ गते यातायातको संयोजन वडा अध्यक्ष परशुराम श्रेष्ठले गर्नुभएको थियो । मजदुरहरु सबैको राति नै स्वास्थ्य परीक्षण गरिएको चित्लाङ स्वास्थ्य चौकीका अहेब महेश्वर लामिछानेले बताउनुभयो । जाँचिएका सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अहेब लामिछानेले बताउनुभयो । ‘थाहा नगरपालिका प्रवेश गर्ने नाका चित्लाङमा हेल्थडेस्क छ, हामी स्वास्थ्य परीक्षणका लागि खटिइरहेका छौ’, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले भन्नुभयो–स्वास्थ्य जाँच गरेरमात्र पठाउने नगरको नीति छ ।