१२ संक्रमित विराटनगरको कोरोना विशेष अस्पतालमा, अवस्था सामान्य

0
Shares

सरोज यादव,विराटनगर

विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा १२ जना कोरोना संक्रमित भर्ना भएका छन । कारोना संक्रमित ती विरामीहरुलाई उदयपुरबाट गएराति एम्बुलेन्सबाट विराटनगर ल्याइएको हो । त्रियुगा नगरपालिका–३ भुल्केस्थित एक मस्जिदमा बस्दै आएका उनीहरुमा कोरोना पोजिटिभ देखिएपछि विराटनगर ल्याइएको हो ।

¥यापिड टेस्टमा कोरोना नेगेटिभ आएपनि थ्रोट स्वाबबाट गरिएको पिसिआर परीक्षणमा उनीहरुमा प्रिजम्टिभ पोजेटिभ देखिएको जनाइएको छ । उनीहरुको विराटनगर १० स्थित नेशनल टे«डिङ परिसरमा हालै निर्माण गरिएको प्रादेशिक कोरोना उपचार केन्द्रमा उपचार भइरहेको कोशी अस्पताल कोरोना उपचार ब्यवस्थापन समितिका संयोजक डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।

विराटनगर ल्याइएका विरामीहरुमा रुघाखोकी र ज्वरोको समस्या देखिएपनि अवस्था खासै चिन्ताजनक नरहेको उहाँले जानकारी दिनुभयो । विरामीहरुमा देखिएको लक्षणका आधारमा उनीहरुको उपचार भइरहेको यादवले बताउनुभयो । विराटनगर ल्याइएका संक्रमितहरु सबै पुरुष हुन् र उनीहरु ४ जना २८ वर्षका, दुई जना २९ वर्षका छन् । त्यस्तै अरु ३४, २६, २२, २५, २० र ४० वर्षका छन् ।

विरामीहरुमध्ये एक नेपाली र ११ जना भारतीय रहेको बताइएको छ । यसैबीच उदयपुरमा कोरोना संक्रमित भेटिएपछि सुनसरीमा आजबाट थप कडाई थालिएको छ । छिमेकी जिल्लाका हैसियतले सुनसरीमा प्रशासनले सर्तकता बढाएको हो । प्रशासनले उदयपुरसँग सीमा जोडिएका सडक तथा नाकाहरुमा समेत कडाइ गर्न थालेको छ । ति क्षेत्रबाट हुन सक्ने आवतजावतलाई अत्यावश्यक अवस्था बाहेकको हकमा पूर्ण रुपमा रोक लगाइएको छ ।

कोशी ब्यारेज तथा उदयपुर जोड्ने चतरा खण्डको सडक सहितका अन्य नाकाहरुमा प्रहरीले विशेष कडाइ गरेको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीमा शनिबार बिहानैबाट लक डाउनमा कडाइ देखिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आज विहानको समयमा जिल्लाभरबाट ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ सवारी कार्वाहीमा परेका छन् । उक्त संख्या अघिल्ला दिनहरुको तुलनामा निकै कम हो ।

सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलका अनुसार अर्को सूचना जारी नभएसम्म जिल्लाभरको लक डाउनमा पूर्ण रुपले कडाइ गरिएको छ । सम्भावित भिडभाडलाई मध्यनजर गर्दै औषधी पसल बाहेक सबै खाले सेवा तत्कालका लागि बन्द गरिएको उहाँले बताउनुभयो । सुनसरीमा अहिले सम्म ४ सय ७२ जनाको र्यापिड टेस्ट मार्फत स्वास्थ्य जाँच गरिएको छ । सो क्रममा दक्षिणी भेगका एक युवाको रिपोर्ट मात्रै आउन बाँकी छ ।

अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसैबिच सुनसरी प्रशासनले राहत वितरणमा हुने भिडभाडलाई मध्यनजर गर्दै डोर टु डोर मात्रै राहत वितरण गर्न सबै स्थानीय तहहरुलाई आग्रह समेत गरेको छ । प्रशासनले मस्जिदमा बस्नेहरु सबैलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । ८१ वटा मस्जिद रहेको सुनसरीमा कोहीपनि आश्रय लिई बसेको भन्ने जानकारीमा नरहेको प्रशासनले जनाएको छ ।

यता मोरङ जिल्लामा हाल १७ जना क्वारेन्टाईनमा र १६ जना आइसोलेशनमा रहेका छन । जिल्लाका विभिन्न ७ वटा क्वारेन्टाईन स्थलहरुमा राखिएका १ सय ९१ जनामध्ये १ सय ७४ जना फिर्ता गएका छन भने १७ जना हालसम्म क्वारेन्टाईनमा रहेको जनाइएको छ । जिल्लाको टाँडी आर्मी क्याम्पमा हाल १२ जना पुरुष र ४ जना महिलागरि १६ जना छन भने धनपालथान गाँउपालिका ४ स्थित कर्सिया स्वास्थयचौकीमा १ जना पुरुष क्वारेन्टाईनमा रहेको जनाइएको छ ।

यसैगरि १६ जना मानिसहरु हाल आसोलेशनमा रहेका छन । विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालमा ४ जना र विराटनगर १० स्थित नेशनल ट्रेडिङको आइसोलेशन केन्द्रमा १२ जनागरी १६ जना हाल आइसोलेशनमा रहेको जनाइएको छ । जिल्लाका विभिन्न ५ स्थानमा आइसोलेशनमा राखिएका ३० जनामध्ये १४ जना घर फर्किएका छन ।