सरुवा रोग विशेषज्ञ डा. पुनलाई मिडियालाई सूचना दिएको कारण देखाई स्पष्टिकरण सोधियो ?

0
Shares

भगवती तिमल्सिना,काठमाडौँ ।

नेपालमा सरुवारोग विशेषज्ञको खडेरी परेजत्तिकै भएको अवस्थामा नेपामा भएका पुराना र बिषयसँग विशेष चासो राखि जनमानसमा सूचना पुर्याउने स्पष्ट वक्ता डा.शेर बहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडियामा बोलेको र सूचना दिएको कारण देखाई स्पष्टिकरण माग्नुले सरकारको नियतमाथी शंका उत्पन्न भएको छ ।

सरकारले तोकेका आधिकारीक व्यक्तिले घटनाका बारेमा स्वतन्त्रपूर्वक बोल्ने र सूचना दिने अधिकार पाएकै छैनन् । पछिल्लो समय वीरगंजमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण फैलिएको ३ दिन पछि मात्र संचार माध्यमले सूचना बाहिर ल्याईसकेपछि सूचना सार्वजनक गर्न बाध्य भए । यस्तो अवस्थामा विश्व व्यापी रुपमा मानव अस्तित्व माथीनै प्रश्न चिन्ह खडा गर्दै फैलिएको कोरोना भाईरसका बिषयमा आम संचारका माध्यमले उहाँसँग जिज्ञासा राख्ने र जनचासोका बिषयमा लेख रचना समेत लेख्नलाई आग्रह गरेकै आधारमा डा. पुनले सरुवा रोग के हो र कसरी फैलिन्छ, फैलिएको छ भन्ने बारेमा स्पष्ट पार्दै आउँनुभएको थियो ।

यसैलाई आधार मान्दै स्वास्थ्य मन्त्रालयले टेकु अस्पतालका १५ वर्षभन्दा लामो समयदेखि काम गर्दै आउनुभएका चिकित्सकसँग स्पष्टीकरण सोध्नुले सबैलाई आश्चर्यचकित बनाएको छ । नेपालमा भएका चिकित्सकहरु सबैमा लेख्ने र बोल्ने बानी नहुन सक्छ तर सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग यी दुबै बिषयमा ज्ञान र सीप भएकै कारण आम जनमानसमा सत्य, तथ्य र बैज्ञानिक आधार सहितको सूचना सम्प्रेषण गर्नका लागि संचार माध्यमले उहाँलाइ विश्वासिलो र भरपर्दो चिकित्सकका रुपमा पस्कदै आएको हुनुपर्छ ।

तर सरकारले सूचना दिएर आम जनतालाई सहज बनाउँनुपर्नेमा एकजना ज्ञाताले सहि सूचना समयमै दिएकै आधारमा स्पष्टिकरण माग्नु कहाँसम्म न्यायोचित होला ? पछिल्लो समय स्वास्थ्य मन्त्रीको विज्ञान प्रविधिमा ज्ञान नभएको फाईदा उठाउँदै मन्त्री लगायत आम जनतालाई भ्रममा पार्दै मन्त्रीका शुभचिन्तकका रुपमा प्रस्तुत भै जनस्वास्थ्य माथी खेलबाड गरि घोटाला गर्ने जस्ता योजनामा जुटेका केही झुण्ड समूहले कहिले नक्कली सामान महगोमा भित्र्याउने, कहिले नक्कली औषधि विक्रेता खडा गरि सम्झौता समेत गरेर सरकारलाई समेत गुमराहमा पार्ने, स्वास्थ्य क्षेत्रलाई बिज्ञको सल्लाहका आधारमा योजना बनाउनुपर्नेमा आफै विज्ञ बन्नेहरुकै कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्री भानुभक्त ढकाललाई पटक पटक आलोचित बनाईरहेका छन् ।

विशेषज्ञको अभाव भएको मुलुकमा भएका विशेषज्ञहरुको उचित मूल्यांकन गरि स्वस्फूर्त रुपमा काम गर्ने वातावरण सृजना गर्नुको सट्टा मन्त्री स्वयम यस्ता समूहको चंगुलमा फसेर आम जनताले समयमै पाउनुपर्ने सूचनालाई लुकाउने उदेश्यले डा.पुनलाई पटक पटक मन्त्रालय बोलाई स्पष्किरण माग्ने र निराश बनाउने तर्फ लाग्नुले सरकारको ध्यान सहि सूचना लुकाएर जनतालाई भ्रममा पार्ने त हैन भन्ने प्रश्न उठेको छ ।

मन्त्रालयका प्रशासन तर्फका सहसचिव रघुराम बिष्टले डा. पुनलाई कोरोनाबारे सूचना दिएको, बिरामीका गोप्य विवरण पत्रकारलाई उपलब्ध गराएको भन्दै यस विषयमा कारवाही किन नगर्ने भनि प्रश्न गरि पत्र तयार पारेको बुझिएको छ ।डा.पुनलाई आफ्ना नाममा बनेको पत्र मन्त्रालय लिन जाने भन्दा बिरामीको सेवा गर्ने काम महत्वपूर्ण हो भन्ने लागेकै कारण उपचारमै व्यस्त हुनुहुन्छ ।

डा. पुन सर्ने रोगका विषयमा निरन्तर अनुसन्धान गर्ने र अनुसन्धानबाट प्राप्त निष्कर्षलाई प्रकाशन गर्ने कार्यमा पनि रुचि राख्ने चिकित्सकका रुपमा चिनीनुहुन्छ । त्यसैले पनि कोरोना संक्रमणको महामारीबाट बच्नका लागि अपनाउनुपर्ने सावधानिका बिषयमा संचार माध्यम समक्ष डा.पुनले लेख्ने, बोल्ने गर्दै आउँनुभएको भए पनि मन्त्रालयको नीति तथा योजनाका बारेमा भने मन्त्रालयले तोकेको व्यक्तिसँगै सोध्नुस भन्दै आउँनुभएको थियो ।

विश्वमानै यस्तो महामारी फैलिएको बेला आफुले जानेबुझेका बिषयमा आम नागरिकलाई समयमै जानकारी दिनु आफ्नो दायित्व सम्झेर संचार माध्यमले राखेका जिज्ञासा विशेष गरि रोग केहो , कसरी सर्छ र जोगिने उपाय के हुन भन्ने बिषयमा बोल्दै आउँनुभएका डा.पुनलाई मन्त्रालयले त्रासमा पारेकै कारण शनिवार बिहानै देखि उहाँको फोनमा कोरोना भाईरस कोभिडका बारेमा सन्देश बज्नुबाहेक फोन रिसिभ हुन सकेन ।

हरेक समय उहाँको फोन व्यस्त छ भन्ने म्यासेज मात्र आउँछ । आफुले जानेको बिषयमा नबोली बस्नुपनि अपराध हो भन्ने सोचेर बिषय विज्ञका रुपमा संचार माध्यम समक्ष बोल्नै पथ्यो र बोल्दै आउँनुभएका चिकित्सकलाई हतोत्साहित पार्नु सरकारको गलत निर्णय भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताउँदै आएका छन् ।

कोरोना संक्रमणको महामारीका बखत विज्ञको सल्लाह र सुझावका आधारमा अन्य चिकित्सक,स्वास्थ्यकर्मीहरुको समेत बनोबल उच्च पार्नुपर्ने बेलामा स्वास्थ्मन्त्री ढकाल कर्मचारीको बहकाउमा लागेर चिकित्सकलाई कारवाही गर्ने निर्णयमा पुग्नु गलत भएको स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरुको ठम्याई छ । यतिबेला चिकित्सकहरु आफ्नै ज्यान समेत दाउमा राखेर बिरामीको उपचारमा खटेको बखत मनोबल उच्च पार्दै जिम्मेवारी दिनुपर्नेमा स्पष्टीकरण सोध्ने जस्ता कार्यले काम गर्ने अन्य स्वास्थ्यकर्मीहरुको समेत मनोबल गिर्न सक्ने विज्ञहरुको ठम्याई छ ।

संचार माध्यमले उहाँको भनाईलाई बढीनै प्राथमिकता दिँदा मन्त्रीका दायाबाँया हिड्नेहरु छायामा परेपछि उनीहरुकै योजनामा मन्त्री ढकाललाई प्रभावमा पारि डा.पुनलाई स्पष्टिकरण सोध्न लगाईएको मनत्रालयका अधिकारीहरुको बुझाई रहेको छ ।