घरधनी हुनुको विडम्बना



मुलुक यतिखेर कोरोना भइरसका कारण ठप्प भएको छ । शहरका केही घरधनीहरु कोठाभाडा नपाउँदा बैंकको किस्ता तिर्न र छाक टार्न नसक्ने भएका छन् । त्यस्तै मोटरसाइकल, गाडी, बैंक ब्यालेन्स हुने भाडावालले राहत पाएका छन् तर साइकल पनि नभएका र भाडाबाहेक अन्य आम्दानीसमेत नभएका घरधनी टुलुटुलु हेरेर बसेका छन् । हरे घरबेटी हुनुको विडम्बना !
– राजेन्द्रकुमार अर्याल, गठ्ठाघर, भक्तपुर ।

 

झाङ्गिदै साइबर अपराध

अहिलेको समय सूचना प्रविधिको युग हो । हरेक विकास कार्यलाई द्रुत गतिमा लैजान सूचना र प्रविधिको उच्चतम प्रयोग आवश्यक पर्छ । सूचनाको तीव्रत्तर विकास हुँदै जाँदा नेपालमा पनि साइबर अपराधको जालो चुनौतीका रूपमा फैलिँदै गएको छ ।

इन्टरपोलले ‘साइबर क्राइम’लाई भौतिक, सांस्कृतिक र प्राकृतिक सीमाविहीन अपराध मानेको छ । जसको माध्यमबाट अपराधीहरूले अज्ञातस्थलबाट इन्टरनेटको गतिको फाइदा उठाई सहजरूपमा विभिन्न आपराधिक क्रियाकलाप गरिरहेका छन् ।
पछिल्लो समय नेपालमा साइबर अपराध चुनौतीका रूपमा बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको व्यापकतासँगै त्यसले निम्त्याएका घटना सार्वजनिक हुने क्रम पनि बढिरहेको छ । सामाजिक सञ्जालमार्फत प्रेमसम्बन्ध झाङ्गिदै यौनसम्पर्कसम्म पुग्ने कुरा नौलो होइन । अपराधीहरूले प्रेमको नाटक रच्दै गोप्य सम्बन्धमा रहँदाको अश्लील तस्वीर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थितिको अनुचित फाइदा लुट्दै रकममा मोलमोलाइ गर्ने प्रवृत्ति बढेको छ।

प्रहरीले कैयौं उजुरी अनुसन्धान गर्दा जबर्जस्ती करणी भएको निष्कर्ष निकालेको छ । साइबर अपराधमा मुद्दाका पीडितहरू १८ वर्षमुनिका किशोरी देखिनुले पनि साइबर अपराधको भयावह स्थिति उजागर भएको छ । शुरूमा अपराधीले अमुक नाममा फेसबुकमार्फत साथी बनाउन अनुरोध पठाउने, किशोरीले अनुरोध स्वीकारेपछि संवाद बढ्दै गएर सम्बन्ध प्रेममा बदलिने र विश्वासका भरमा यौनसम्पर्क राख्दा गोप्यरूपमा खिचेका तस्वीर तथा भिडियोलाई माध्यम बनाएर अपराधीले मोलमोलाइ गर्ने प्रवृत्ति दोहोरिइरहेको छ ।

यस्ता घटना दिनहुँ दोहोरिनु भनेको सामाजिक सञ्जालको दुरूपयोग बढ्नु हो । सूचना प्रविधिको सहजतासँगै यस्ता प्रकारका घटना दोहरिनु भनेको समुन्नत समाजका लागि पनि ठूलो चिन्ताको विषय हो । इन्टरनेट सेवाको दुरूपयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने, हिंसा फैलाउने, प्रलोभनमा पार्ने, अर्काको पहिचान अनधिकृतरूपमा प्रयोग गर्ने, क्रेडिट कार्ड चोरी गरी बैंकिङ कसुर गर्ने, अर्काको कम्प्युटर तथा त्यसको नेटवर्कमा क्षति पु¥याउनेजस्ता विविध कार्यहरू साइबर अपराधअन्तर्गत पर्दछन् ।

अहिले साइबर अपराध विश्वव्यापी समस्या बन्दै गएको छ । विकसित देशहरूमा आतंकवाद, जाजुसी र आमविनाशका हतियारभन्दा पनि साइबर अपराधलाई सुरक्षा खतरा मानिन्छ । अहिले सामाजिक सञ्जालमा गाली, मानहानि र चरित्रहत्या मात्रै भएका छैनन् । यसैलाई माध्यम बनाएर ठूला व्यावसायिक संगठनमा आक्रमण, साइबर अपराधीले लक्षित वर्ग छान्दै अनलाइनमा यौन विज्ञापन, यौन व्यापार तथा अनलाइन मनी ट्रान्सफरबाट रकम कारोबार गर्ने गरिरहेका छन् ।

नेपालको साइबर क्षेत्र खतरामुक्त छैन । ‘साइबर रेप’ एउटा दृष्टान्त हो । साइबर अपराधका घटना बढोत्तरी हुनुमा राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो हुनु हो । साइबर अपराधविरुद्धको अभियानमा राज्यको नीति र लगानीको पनि उत्तिकै खाँचो देखिएको छ । साइबर अपराधका सबै तथ्यांक प्रहरीसँग छैन । बलात्कार तथा हत्या प्रकरणका केही घटना र पीडितका उजुरीका घटना मात्रै प्रहरीसम्म पुग्ने गरेकाले यसको सञ्जाल कति फराकिलो छ भनेर थाहा पाउन व्यापक अनुसन्धान थालिनुपर्छ ।
– रोशन पुरी, अर्घाखाँची ।

सामान्य अवस्थामा सबै उत्तरी नाका खुल्नुपर्छ
नेपाल–चीन सम्बन्ध सुधारिएको भने पनि व्यवहारमा देखिएको छैन । नेपाल र चीनबीच स्थलगत मार्गबाट व्यापार तथा अवागमनमा समस्या जारी छ । साढे तीन वर्षअघि सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र त्यसलगत्तै ०७२ वैशाखमा गएको विनाशकारी पहिरोपछि नेपाल–चीनबीच स्थलगत मार्गबाट हुँदै आइरहेको व्यापार तथा आवागमनमा समस्या उत्पन्न भएको थियो ।

भूकम्पद्वारा भत्केका सडक तथा अन्य संरचनाहरू मर्मत गर्न केही महिना लाग्ने र त्यसपछि नाका सुचारु हुने आशा गरिएको थियो । त्यहीअनुसार नेपालका तर्फबाट आफ्नो सिमानाभित्रको सडक मर्मत गरेर सवारी चल्नलायक बनाइयो तर चीनतर्फ भने केही प्रगति भएन । बेला–बेलामा खुल्ने भनिए पनि र केही समय खोल्ने र फेरि बन्द गर्ने परिपाटी अझै कम भएको छैन ।

अरनिको राजमार्ग आसपासमा व्यापार तथा पर्यटन व्यवसायको क्षेत्रमा अर्बौं लगानी छ । हजारौंले रोजगारी पाएका थिए । सहज र सुविधा सम्पन्न बनाउने भन्दै खोलिएको रसुवागढी नाकाबाट वस्तु आयात निर्यातमा विभिन्न समस्या यथावत् छन् । पहिलो समस्या सडकको दूरावस्था हो । बेत्रावतीबाट धुन्चेसम्मको सडकखण्ड अत्यन्त साँघुरो छ ।

यसै पनि ठूला सवारीसाधन तथा ट्यांकर गुड्न मुस्किल हुने उक्त सडक खण्डलाई बेलाबेला पहिरोले अवरुद्ध बनाउने गरेको छ । भर पर्दो विकल्पका रूपमा बेत्रावतीबाट सीधै स्याफ्रुबेसीसम्म त्रिशूलीको किनारैकिनार सडक निर्माण गरिएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडकको निर्माण सम्पन्न भएको छैन ।

सिन्धुपाल्चोकको जनसंख्या करिब ३ लाख छ भने रसुवाको जनसंख्या करिब ५० हजार छ । रसुवा जिल्लावासीलाई मात्रै केरुङ जाने इजाजत दिइएकोले पनि नेपाली व्यापारीहरूले सामान ओसारपसार गर्ने जनशक्ति पाइरहेका छैनन् । पाइए पनि ज्यादै महँगो ज्याला तिर्न उनीहरू बाध्य छन् । यस विषयमा नेपाल–चीनबीच पटक–पटक द्विपक्षीय वार्ता भइरहेको छ तर समस्या सुधार हुन सकेको छैन । नेपालको तर्फबाट यथार्थ बाध्यता अवगत गराउन नसकिएको हो या चीनका तर्फबाट बुझ पचाइएको हो ? स्पष्ट हुन सकेको छैन ।

नेपाल र चीनबीच मित्रताका विभिन्न निशानीमध्ये काठमाडौं–कोदारी राजमार्ग पनि हो । जुन बेला चीनलाई संयुक्त राष्ट्र संघले मान्यता दिएको थिएन, अर्थात् चीनको प्रतिनिधित्न गर्दै ताइवानले संयुक्त राष्ट्र संघमा भिटो राष्ट्रको मान्यता पाएको थियो, त्यो बेलामा नेपालले चीनको पक्षमा आवाज उठाएको हो । त्यसबापत चीन सरकारले आफ्नो देशको सडक मार्ग नेपालको राजधानी काठमाडौंसम्म जोडिदिएको हो । तर, चीनले विभिन्न आशंकामा यति बेला मित्रताको यो निशानी बन्द गरेको छ ।

रसुवागढी नाकामा सडकको सहज पहुँच नहुन्जेल र प्रवेशाज्ञा व्यवस्थित नहुन्जेल कुनै पनि हालतमा तातोपानी नाका सुचारु गर्नुपर्छ । नेपाल–चीनबीच स्थलगत पारवहनलाई विकास गर्ने सन्दर्भमा प्रधानमन्त्री ओली गम्भीर छैनन् भन्नु मूर्खता हुनेछ । बीपी कोइरालापछि चीनले सबैभन्दा धेरै भरविश्वास गरेका नेपालका प्रधानमन्त्री ओली नै हुन् । प्रधानमन्त्री नियुक्त हुनुभन्दा अघि पनि ओली रसुवागढी नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गरेका थिए । चीनसँगको स्थलगत व्यापार तथा आवागमनलाई सहज बनाउन प्रधानमन्त्री ओली कतिसम्म गम्भीर छन् भन्ने कुरा यसले पनि पुष्टि गर्छ । तर, त्यो गम्भीरतालाई व्यवहारमा रूपान्तरण गर्न कत्ति पनि ढिलाइ गर्नुहुँदैन ।
– सीता सुनार, म्याग्दी ।

प्रतिक्रिया दिनुहोस्