काठमाडौं, (नेस)
नेपाल सरकारले तेस्रोपटक लकडाउनको अवधि थप गरेपछि स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँग बसेर नयाँ रणनीतिका लागि छलफल गरी छ बुँदाको सुझाव संकलन गरेको छ ।
नयाँ रणनीति बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरुसंग छलफल गर्नुभएको थियो । मन्त्री ढकालले अहिलेसम्मको अवस्थाको विश्लेषण गर्दै भविष्यमा के–कस्तो कदम चाल्न सान्दर्भिक हुन्छ भन्दै सुझाव माग्नुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यमन्त्री ढकालका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले छलफलमा सहभागी जनस्वास्थ्य तथा चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारले चालेको अहिलेसम्मको कदमलाई स्वागत गर्दै थप केही कदम चाल्न सुझाव दिएको बताउनुभयो ।
सहभागीले सरकारले समयमै लकडाउन गर्ने निर्णय गरेकै कारण जोखिम कम भएको बताएका थिए । उहाँले अब पुरानो रणनीतिलाई थप परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
विज्ञहरुले परीक्षणको दायरा बढाउने, लकडाउनको बारेमा नीतिगत बहस थालनी गर्ने, व्यवहार परिवर्तन गराउने अभियानलाई प्राथमिकतामा राख्ने, प्रकोपको बेला एउटै कमान्ड बनाउने, स्वास्थ्यको संरचना मिलाउने डराउने अवस्था नभए पनि सतर्क हुनैपर्ने सुझाव दिएका थिए ।











प्रतिक्रिया