काठमाडौं, (नेस)
त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीले लिखित माफी माग्ने र उनीमाथि विभागीय कारबाही गर्ने सहमति भएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा प्रहरीले लिखित माफी माग्ने र उनलाई विभागीय कारबाही गर्ने सहमति भएको हो । बुधबार बेलुकी अस्पतालको ड्युटी सकेर घर फर्कंदै गरेका त्रिवि शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरीले कुटपिट गरेका थिए ।
स्वास्थ्यकर्मी तथा नेपाल चिकित्सक संघले कडा विरोध गरी कुटपिट गर्ने प्रहरीउपर आवश्यक छानबिन गरी विभागीय मात्र नभई कानुनी कारबाहीको माग अघि सारेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा पीडित चिकित्सक, महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटी, नेपाल चिकित्सक संघलगायतको बैठकले लिखित माफीसहितको कारबाही गर्ने कुरामा सहमति गरेको छ ।











प्रतिक्रिया