मजदुरको समस्याप्रति सरकारको बेवास्ता, दिनदिनै कुम्लो बोकेर काठमाडौं छोड्नेको लहर


मधुसूदन रायमाझी, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि उपत्यका काठमाडौंमा काम गर्ने मजदुरहरु पैदल हिँडेरै जिल्ला जाने क्रम बढेको छ ।

लकडाउनको अवधि लम्बिँदै जाँदा जीविका धान्न गाह्रो भएपछि उपत्यकाभित्र रहेका मजदुरहरु राजमार्ग हुँदै आ–आफ्नो घरफर्कने क्रम बढेको हो । सरकारले यसअघि चैत २८ र २९ गते दुई दिन उपत्यकाबाहिर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि प्रदेश सरकारको दबाबपछि उक्त निर्णय फिर्ता लिएको थियो ।

सरकारले कोरोना संक्रमणको अवस्था हरेर मात्र लकडाउनको बारेमा थप निर्णय लिने बताएको छ । हालसम्म नेपालमा १६ जना व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । लकडाउनको समयमा जीविका चलाउन गाह्रो भएका मजदुरलाई स्थानीय सरकारले नै व्यवस्थापन गर्ने भनिए पनि राहत नपाएको गुनासो उपत्यकामा बढ्दै गएको छ ।

सरकारले ठूला आयोजना सञ्चालन गर्न दिने निर्णयबाट उक्त आयोजनामा काम गर्ने मजदुरको व्यवस्थापन भए पनि काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका व्यक्तिहरु भने संकटमा परेका छन् ।

काठमाडौंबाट ७ देखि १० दिन पैदल यात्रा गरेरै मजदुरहरु आ–आफ्नो जिल्ला फर्कन क्रम बढेको छ । तर सरकारले भने मजदुरहरु पैदल यात्रा गरेर घर फर्किंदा समेत व्यवस्थापनमा ध्यान दिन सकेको छैन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई मजदुरको हकमा राहत प्याकेज घोषणा गरेर अगाडि बढ्न सुझाव दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘लकडाउनको कार्यान्वयन गर्न सबै प्रतिबद्ध भएर लाग्नुपर्छ, मजदुरहरु जहाँ जुन अवस्थामा रहेका छन्, उनीहरुको त्यही व्यवस्थापन गर्ने काममा सरकारको ध्यान जान जरुरी छ ।’ लकडाउनको अवधिमा मजदुरलाई राहत दिन ढिला गर्न नहुने बताउँदै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।

उपत्यका काठमाडौंबाट पैदल यात्रा गरेर कति बाहिरिए भन्ने तथ्यांक छैन । रात बिहान नै यात्रुहरु हिँड्ने भएकाले गाडीबाहेक यात्रुको तथ्यांक राख्न जटिल भएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीम ढकाल बताउनुहुन्छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अत्यावश्यक सामग्री लिएर दैनिक ९ सय सवारीसाधन आवातजावत गर्ने गरेका छन्, विभिन्न नाकाबाट बाहिरिने भएकाले पैदल यात्रुको तथ्यांक राख्न सकिएको छैन ।’

लकडाउनको कारण रोजीरोटी गुमेपछि गाउँ जानेको संख्या बढ्दै गएको छ । उपत्यका काठमाडौंमा करिब ५० लाखभन्दा मानिसहरु बसोबास गर्दै आएको अनुमान गरिएको छ । महाशाखाका प्रमुख ढकालका अनुसार चैत ११ लकडाउन हुनुअघि तीन दिनको अवधिमा मात्र ६ लाख मानिसहरु उपत्यकाबाट बाहिरिएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले संकटमा परेका मजदुरको व्यवस्थापनको काममा सरकार लागिपरेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मजदुरको समस्या समाधान गर्ने काम स्थानीय सरकारले गरिरहेको छ, हामी गम्भीर भएर नै व्यवस्थापनको काममा जुटेका छौं ।’

उहाँले स्थानीय सरकारसँग समन्वय नगरी रातारात उपत्यकाबाट बाहिरिँदा समस्या थपिएको बताउँदै समन्वय गरेर जाने मजदुरहरुको हकमा स्थानीय सरकारले खाने बस्नेलगायतको काम गरेको बताउनुभयो ।

सरकारले लकडाउन घोषणा गरे पनि बीपी राजमार्गबाट पैदल आ–आफ्नो जिल्ला हिँडेका यात्रुहरुलाई गाडीको व्यवस्था गरेरै गन्तव्यमा पु¥याउने काम भएको छ ।