लकडाउनमा पनि कर चुक्ता गर्दै करदाता


नेपाल समाचारपत्र, काठमाडौं

चालू आर्थिक वर्षको नौ महिनामा झण्डै तीन खर्ब रुपियाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले चैतसम्म कुल २ खर्ब ८१ अर्ब रुपियाँ राजस्व संकलन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी राजस्व असुल भएको छ । विभागले चैत महिनामा मात्रै २५ अर्ब रुपियाँ राजस्व संकलन गरेको छ । विश्वव्यापी रूपमा कोरोनाको प्रभाव बढ्दै जाँदा देशभर भएको लकडाउनले राजस्व संकलनमा पनि गतिरोध सिर्जना गरेको छ ।

लकडाउनका कारण तेस्रो त्रैमासिक राजस्व भुक्तानीलाई मन्त्रिपरिषद् बैठकले कर तथा कर विवरण बुझाउने समयावधि वैशाखसम्म थपेका कारण लक्ष्यअनुसार राजस्व असुली कम भएको छ ।

यद्यपि, कर बुझाउने अवधि थपिएको भए पनि अहिले अनलाइनबाट कर तिर्ने क्रम जारी रहेको विभागले जनाएको छ । विभागका अनुसार यसरी अनलाइनबाट कर चुक्ता गर्ने करदाताको संख्या अहिले बढेको छ ।

हाल ३८ हजार ९३ करदाताले अनलाइनबाटै मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण पेश गरेका छन् । यस्तै संशोधित आयकर ६ सय ७३ जनाले बुझाएका छन् । प्रतिकूल अवस्थाका बीच पनि वैशाख २५ गतेभन्दा अगाडि नै कर बुझाउन करदातालाई सरकारले प्रोत्साहन गर्दै आएको छ ।