कोरोनाको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि पुन: परीक्षण गर्न विज्ञहरुको सुझाव


न्यूज अफ नेपाल, काठमाडौं

नेपाल सरकारले तेस्रो पटक लकडाउनको अवधी थप गरेपछि स्वास्थ्य मन्त्रालयले विज्ञहरुसाग बसेर नयाँ रणनीतिका लागि छलफल गरि छबुँद्धाको सुझाव संकलन गरेको छ ।

नयाँ रणनीति बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरुसंग छलफल गर्नुभएको थियो । मन्त्री ढकालले अहिलेसम्मको अवस्थाको विश्लेषण गर्दै भविस्यमा के कस्तो कदम चाल्न सान्दर्भिक हुन्छ भन्दै सुझाव माग्नुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री ढकालका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्की भन्नुहुन्छ छलफलमा सहभागी जनस्वास्थ्य तथा चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारले चालेको अहिलेसम्मको कदमलाई स्वागत गर्दै थप केही कदम चाल्न सुझाव दिएका छन् ।

सहभागीहरुले सरकारले समयमै लकडाउन गर्ने निर्णय गरेकै कारण जोखिम कम भएको बताएका थिए । उहाँले अब पुरानो रणनीतिलाई थप परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

बुधबार मन्त्रालयमा आयोजित छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, बरिष्ठ चिकित्सक प्राडा अर्जुन कार्की, प्राडा सरद वन्त, चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, डा महेश मास्के, प्राडा प्रदीप वैद्य, डा. दुर्गा मिश्र, डा सुरेश तिवारी, डा अनुप सुवेदी लगायत स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, महाशाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

विज्ञहरुबाट आएका सुझावहरु:

१. परीक्षणको दायरा बढाउँ:

पछिल्लो समय नेपालमा परीक्षणको दायरा बढेको छ तर यसलाई अझ बढाउनु पर्छ । लकडाउन तीन साता कटिसकेकोले अब आरडीटीको रिलायवल बढी हुनसक्छ । यस्तै पीसीआर टेष्ट पनि उत्तिकै महत्वपूर्ण छ । आरडीटीमा जस्तै पीसीआरमा नेगेटिभ भएकाहरुको पनि कम्तिमा १० प्रतिशतलाई रेन्डमली पुन परीक्षण गर्नुपर्छ ।

२. लकडाउनको बारेमा नीतिगत बहस थालौँ:

सधैभरी यहि अवस्थामा लकडाउन उचित हुन्न । त्यसैले अब लकडाउनको बारेमा नीतिगत बहस थालौँ । १५ बैशाख अघि नै स्वास्थ्य मन्त्रालयले विशेषज्ञसंग छलफल गरी एउटा रणनीति बनाउँ र उच्चस्तरीय समितिमा पठाउँ । संक्रमणको अवस्था हेरेर देशमा विभिन्न भागलाई सामान्य क्षेत्र –ग्रिन जोन, सामान्य उन्मुख क्षेत्र (यलो जोन) र खतरा क्षेत्र (रेड जोन)मा बाढ्ने । ग्रिन जोनमा लकडाउन खुकुलो पार्ने, यलो जोनलाई आशिक खुकुलो पार्ने र रेड जोनलाई अझ बढाई कडाईका साथ रोक्ने जस्ता रणनीति पनि हुनसक्छ ।

३. व्यवहार परिवर्तन गराउने अभियानलाई प्राथमिकतामा राखौँ :

कोरोनाको संक्रमण रोक्नका लागि अहिले चालिएको व्यवहार परिवर्तत सम्वन्धी कार्यलाई अझ व्यापक बनाउने भन्ने सुझाव छ । त्यो भनेको सावुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, भिडभाडमा नजाने, किनमेलमा जाँदा पनि लाइन लागेर वा पालो गरेर किनमेल गर्ने, खोक्दा हाछिउ गर्दा मुख छोप्ने लगायतका व्यवहार परिवर्तनका काम गर्ने कुरालाई अघि बढाउनुपर्छ ।

४ . प्रकोपको बेला एउटै कमाण्ड बनाउ:

उपप्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति, सीसीएमसी, मुख्य सचिवको संयोजकत्वको अर्को समिति, स्वास्थ्य मन्त्री , स्वास्थ्य सचिवको संयोजकत्वमा अर्को समिति, अब शिक्षाले पनि अर्को समिति बनाउँदै छ । यसरी छुट्टा छुट्टै समिति बनाएर महामारी नियन्त्रण गर्न गाह्रो हुन्छ । त्यसैले एउटै सेन्ट्रल कमाण्ड बनाउनु पर्छ । त्यसलाई सहयोग गर्ने विपत व्यवस्थापनको र जनस्वास्थ्यको अर्को प्राविधिक उप समिति बनाउने र समन्वय गर्ने ।

५ .स्वास्थ्यको संरचना मिलाउँ:

यो महामारीको बेला स्वास्थ्यको अहिलेको संरचना मिलिरहेको छैन भन्ने देखिएको छ । यसलाई यहि मौकामा सुधार गरौँ । स्थानीय तहको स्वास्थ्य प्रणालीलाई बलियो बनाउनु पर्छ ।

६. डराउने अवस्था छैन तर सतर्क हुँनै पर्छ:

अहिलेसम्मको संक्रमित केशहरुको विश्लेषण गर्दा नेपालमा डराउनुपर्ने अवस्था छैन तर थप सतर्कता हुनैपर्छ । क्वारेन्टाइन र सामाजिक दुरी अपनाउने कार्यमा लाग्नैपर्छ । सरकारको पछिल्लो कार्य सन्तोषजनक छ । तर यसलाई समयसापेक्षा परिवर्तन गर्दै लग्नुपर्छ ।