बाँस्कोटाको घरमा बम बिष्फोट गराउने तीन जना पुर्पक्षका लागि थुनामा


पुष्कर बुढाथोकी, भक्तपुर ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा बम बिष्फोटको आरोपमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् । भक्तपुर जिल्ला अदालतको आदेशले गत चैत्र ६ गते पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैं पठाईएको हो ।

बाँस्कोटाको भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थित निर्माणाधिन घरमा फागुन २८ गते बिहान बम बिष्फोट भएको थियो । बिष्फोटबाट घरको पूर्व पट्टीको गेटमा क्षति भएको थियो भने दुई छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।

बम विष्फोट गराएको अभियोगमा काठमाण्डौ रानीबारीबाट कैलाली टिकापुर नगरपालिका वडा नं. २ घर भई हाल काठमाण्डौ सामाखुशी बस्ने बर्ष ३१ को लक्ष्मण सेठ्ठि पक्राउ परेका थिए ।

पक्राउ पर्ने अर्कामा कैलालीकै भजनी नगरपालिका वडा नं. ४ घर भई हाल चितवन भरतपुर बस्ने बर्ष ३२ को अमृतबहादुर कुमाल रहेका छन् । त्यसैगरी सोही अभियोगमा कालिकोट शान्ति त्रिबेणी गाउँपालिका वडा नं. ८ घर भई काठमाडाैं बसुन्धरा बस्ने बर्ष २७ को अभिषेक भन्ने टेकबहादुर बिक समेत पक्राउ परेका थिए ।

पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैं पठाईएको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोईरालाले बताउनुभयो ।