रातभर हिँडेरै काठमाडौं छोड्ने बढे


नेपाल समाचारपत्र, काठमाडौं

लामो समयको लकडाउनका कारण राजधानीमा बस्दै आएका नेपाली हिँडेरै घर फर्किने क्रमले निरन्तरता पाएको छ ।

बाह्य मुलुकबाट नेपाल फर्केका व्यक्तिमा कोरोना भेटिएपछि यहाँका संघीय सरकारले पनि मुलुकभर बन्दाबन्दी गरेको छ । यस समय सरकारले अत्यावश्यकबाहेकलाई घरबाट निस्केर हिँडडुल गर्न र सवारीमा यात्रा गर्न समेतनिषेध गरिएको छ ।

घरबाहिर निस्केर हिँडडुल गरेकालाई सरकारले पक्रेर कारबाहीसमेत गरिरहेको छ । तर बन्दाबन्दीको असरले गर्दा मुलुकभरका ज्यालादारी मजदुर भने यति बेला अत्तालिएका छन् । जहाँ रहेको हो त्यहीं बस्न र खाना नपाएको खण्डमा सम्पर्क गर्न सरकारले आह्वान गरेको छ । तर मजदुर भने सरकारको यस्तो निर्णयलाई अवज्ञा गर्दै जन्मथलोतिर लागिरहेका छन् ।

उपत्यकालगायत मुलुकको विभिन्न स्थानमा ज्यालादारी गर्ने, डेरा गरी बस्ने, इँटाभट्टामा काम गर्ने, विभिन्न विकास निर्माणमा ज्यालादारी काम गर्ने श्रमिक आफ्नो जन्मथलो फर्किरहेका छन् ।

उनीहरू रातीको समयमा डेरा छोडी पैदलै हिँडिरहेका छन् । बन्दाबन्दीबाट आत्तिएका उनीहरू काठमाडौंबाट कलंकी–नागढुंगा, बल्खु–दक्षिणकाली, सातदोबाटो–कान्तिलोकपथ, कोटेश्वर–धुलिखेललगायतको बाटो हुँदै दिनरात भएर आफ्नो जन्मथलो फर्किरहेका छन् ।

यसरी निस्केकालाई राज्यले बीच बाटोमा रोकेको पनि पाइँदैन । यसरी निस्केकाहरू बन्दाबन्दीले गर्दा आत्तिएपछि डेरा छोडेको बताउँछन् । उनीहरूको यस्तो अवस्थाप्रति अहिलेसम्म सरकारले सान्वनासमेत दिन सकेको छैन ।

लालाबालासहित सपरिवार डेरा छोडी लस्कर लगाएर यति दिनमा त घर पुगिन्छ होला भनेर अनुमान लगाउँदै पैदल हिँडिरहेका छन् । काठमाडौंको डेरा छोडी यसरी पैदलै घर पुग्ने आशामा हिँडिरहेका बारा निजगढका सुनिल यादव ललितपुरको झाँक्रीडाँडामा हामीसँग भेट्दा यस्तै भनिरहेका थिए । उनीसहितका सात जना साथीले सुन्धाराको डेरा मंगलबार राती ११ बजे छोडेका थिए ।

उनीहरू रातभर हिँडेपछि ८ घण्टामा कान्तिलोकपथको बाटो भएर झाँक्रीडाँडा पुगेका थिए । उनले अबको तीन दिनभित्र आफ्नो घर पुग्ने अनुमान लगाएका छन् । ‘काठमाडौंबाट हिँडेर आउँदा यहाँसम्म आइपुग्न ८ घण्टा लाग्यो । राती शीतल भएर छिटो हिँड्दा यहाँ आइपुगें । घाम लागेपछि छिटो हिँड्न सकिँदैन । अनुमानमा तीन दिनमा घर पुगिन्छ होला।’ –उनले अनुमान लगाउँदै सुनाए ।

बन्दाबन्दीको समय बढेसँगै आत्तिएर काठमाडौंमा बस्न नसक्ने निचोड निकालेर हिँडेरै भए पनि घर पुग्न जोखिम मोल्न आफूहरू तयार भएको सुनिलसँगै हिँड्ने उनका साथी निरज शाहको भनाइ छ । ‘कोठामा भएको चामल सकिएको छ । बाहिर किन्नलाई हिँड्न दिइएको छैन । हिँड्यो कि पुलिसले समातिहाल्छ । यसरी भोकभोकै कति दिन बस्न सकिन्छ? बरु रोग लागे लागोस् भन्दै हिँड्न थालेको हो।’ –निरजले सुनाए ।

निरजको जस्तै समस्या भएर आफ्नो परिवारसहित डेरा छोडेर हिँड्न बाध्य भएको पर्साकी मनमाया घिसिङले सुनाइन् । उनीसहितको परिवारले पनि बाराका सुनिलहरूले जस्तै रातको समयमा डेरा छोडेका थिए । बुधबार बिहान कान्तिलोकपथ सडक खण्डको तीनपाने भञ्ज्याङमा भेटिएकी मनमायाले कोठामा भएको खानेकुरा सकिँदै गएको र लालाबालसहितको परिवार पाल्न मुस्किल भएकाले अत्तालिँदै डेरा छोडेको दुखेसो सुनाइन् ।

‘समाते नि समातोस् । रोग लागे पनि लागोस् बरु भोकले नमरोस् भनेर निस्केका हौं । बाटोमा जे भेटे पनि खाएर बाँचौंला भन्ने आँट लिएको छु । घर त पुगिन्छ।’ –उनले भनिन् । कान्तिलोकपथ सडक हेटौंडा जोडिएको कारणले पैदलबाट यही बाटो हुँदै गन्तव्य पुग्ने लक्ष्य उनीहरूको छ । यही बाटो हुँदै चितवन, पर्सा, रौतहटलगायत तराई क्षेत्रका लागि बटुवाहरू हिँडिरहेका छन् ।

हातमा पानी, चाउचाउ, पछाडि पोकापोकी, कोहीको लालाबाला काँधमा त कोहीले डोहो¥याउँदै असिनपसिनको अवस्थामा यही बाटोमा हिँडिरहेको समूहको दृश्य देख्न सकिन्छ ।