सनसिटीवासीमा त्रासको शासन: दुई सय ७० को रिपोर्ट नेगेटिभ, सडक नै रोक्ने काम


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौंको मनोहरा नगरपालिका–९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै आसपासका गल्लीमा स्थानीयले सडक आवातजावत गर्न नमिल्ने गरी बाटो बन्द गरे ।

सनसिटीसँगै जोडिएका आसपासका गल्लीहरूमा स्थानीयले सवारीसाधन प्रवेश गर्न नमिल्ने गरी बाँस र पोल तेस्र्याएर बाटो बन्द गराएका हुन् । लकडाउनको अवधिमा पनि खुल्ने खाद्यान्न पसल बुधबार बिहानदेखि नै खुलेका थिएनन् ।

वडा कार्यालयले बिहान ४ देखि ८ बजेसम्म मात्र खाद्यान्न पसल सञ्चालन गर्न आग्रह गरे पनि सनसिटी आसपासको क्षेत्रमा भने पसलहरू खुलेनन् । बुधबार दिनभर सनसिटीभित्र रहेको ए ब्लगका व्यक्तिको ¥यापिट टेस्ट गरिरहँदा बाहिर भने स्थानीय आफ्नो टोलमा आउने शाखा सडक बन्द गराउन खटिएका देखिन्थे ।

स्थानीय पदम रेग्मीले आफ्नो टोलमा सवारीसाधन र नचिनेका मानिसहरूको प्रवेश नहोस् भनेर टोलवासीकै सहमतिमा सडकमा बाँस तेस्र्याएर बन्द गरेको बताउनुभयो । उहाँे भन्नुभयो– ‘बिहानको समयमा नचिनेका व्यक्तिहरू दौडिने क्रम बढेपछि टोलवासीको सहमतिमा बाटो बन्द गराइएको हो ।’

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले भने सडकमा अनावश्यकरूपमा अवरोध गर्ने गरी बाँस र पोल राखेर अवरोध गर्ने काम गलत भएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संयम र सतर्क रहनुपर्छ, सडक नै अवरुद्ध गरेर एम्बुलेन्ससमेत चल्न नदिने गरी सडक बन्द गराउन दिँदैनौं ।’ नगरप्रमुख थापाले अवरुद्ध भएको ठाउँ स्थानीयलाई अवरोध हटाउन आग्रह गरिएको बताउँदै सडक बन्द गराउने भन्दा पनि घरबाट बाहिर ननिस्किएर सहयोग गर्न आग्रह गर्नुभयो ।

यता, अपार्टमेन्टमा बुधबार २ सय ७० जनामा गरिएको र्यापिड टेस्टमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रायलबाट खटिएको टोलीले ए ब्लकका २ सय ४३ जना अन्य चारवटा ब्लकका २७ जना वृद्धवृद्धा गरी जम्मा २ सय ७० जनाको र्यापिट टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्यकर्मीले जानकारी गराएका छन् ।

उक्त अपार्टमेन्टमा यही वैशाख १ गते र्यापिट टेस्ट गर्दा विदेशबाट फर्किएको एक परिवारका ३ सदस्यमा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा भर्ना गरी पीसीआरमार्फत गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ रिपोर्ट आएको थियो । उनीहरूको घरमा सहयोग गर्दै आएका दुई सहयोगीको पनि र्यापिट टेस्ट गर्नुका साथै स्वाब नमुना संकलन गरी स्वास्थ्य टोली फर्किएको सोही हाउजिङका एक सदस्यले नेपाल समाचारपत्रलाई जानकारी गराए ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ब्लक एमा रहेका २ सय ४३ जनाको परीक्षण गर्ने लक्ष्यका साथ टोली बुधबार बिहानै सनसिटी पुगेको बताउनुभयो ।