एसईई लकडाउनपछि लगत्तै, सामाजिक दूरी कायम गर्दै परीक्षा


ईश्वरराज ढकाल, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने विषयमा गृहकार्य थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण अवरुद्ध परीक्षालाई थप व्यवस्थित गर्न र घरबाटै परीक्षा केन्द्रमा आउने–जाने व्यवस्था गर्न केन्द्र थप गर्ने गृहकार्य थालेको हो ।

त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास एकाइ र आफ्नो प्रदेश परीक्षा कार्यालयमार्फत अध्ययन शुरू गरेको छ । गएको चैत ६ गतेदेखि एसईई, वैशाख ८ देखि १२ र २१ गतेदेखि कक्षा ११ को परीक्षाको मिति तय गरेको थियो । सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै त्यसअघि नै केही केन्द्र थप गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘होम सेन्टर नगरी एकै दिनमा परीक्षा दिएर फर्किने वातावरण बनाउन केन्द्र थप गर्न लागेका हौं ।’ उहाँले भन्नुभयो– ‘होम सेन्टर सम्भव छैन घर पायक केन्द्र बनाउन गृहकार्य गरिरहेका छौं ।’ बोर्डले एसईई र १२ को परीक्षा एकैदिन सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले बिहान एसईई र दिउँसो १२ को परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

बोर्डले मंगलबार बोर्डका सदस्य, परीक्षा नियन्त्रक र केही उच्च अधिकारीसँग छलफल चलाएको थियो । सो क्रममा अधिकांशले होम सेन्टरभन्दा पनि पायक पर्ने विद्यालयमा केन्द्र कायम गर्न सुझाएका थिए । बोर्डका अध्यक्ष पौडेलले ११ हजार विद्यालयमा होम सेन्टर कायम गर्न नसकिने बताउनुभयो ।

 

भन्नुभयो– ‘अहिले कायम गरिएकामध्ये केही थप गरी केन्द्र विस्तार गर्न सकिन्छ होम सेन्टर कायम गर्न सकिँदैन ।’
निजी विद्यालयको संस्था प्याब्सनका अध्यक्ष टीकाराम पुरीले होमसेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसमक्ष आग्रह गरेको बताउनुभयो । प्याब्सनका अध्यक्ष पुरीले भन्नुभयो– ‘लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्न मन्त्रीसँग आग्रह गरिसकेका छौं ।’

यस वर्ष एसईई परीक्षामा करिब ५ लाख तथा १२ र ११ मा करिब ९ लाख गरी करिब १४ लाख विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कोरोनाको कारण चैत ६ गतेदेखि सबै परीक्षा स्थगित भएर पठनपाठनसमेत ठप्प भएको छ । बोर्डले कक्षा १० मा १ हजार १ सय ९५ तथा कक्षा १२ र ११ मा १ हजार १ सय ४६ परीक्षा केन्द्र कायम गरेको छ ।

परीक्षा स्थगित भएपछि विद्यार्थीलाई अन्योल परेको छ । तीन तहको परीक्षा स्थगित भएको कारण विश्वाविद्यालय तहको परीक्षामा समेत समस्या परेको छ । हुन त सबै विश्वविद्यालयले सबै संकायको परीक्षा स्थगित भएको घोषणा गरिसकेको छ । तैपनि विद्यालय तहको शिक्षा कक्षा १० र उच्च शिक्षाको ढोका कक्षा १२ को परीक्षा स्थगित हुँदा समग्र परीक्षामा व्यवधान उत्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनलगत्तै पहिलो प्राथमिकता एसईईलाई दिएको छ । लगत्तै कक्षा १२ र ११ को परीक्षा सम्पन्न गर्न बोर्डलाई निर्देशन दिएको छ ।

बोर्डले केही दिन गृहकार्य गरी परीक्षा केन्द्र थप गर्ने निर्णय गर्नेछ । बोर्डका अध्यक्ष प्राडा पौडेलले अहिले तथ्याङ्क संकलन भइरहेका र विद्यार्थीको अवस्था हेरेर पायक पर्ने स्थानमा केन्द्र कायम गर्ने विषयमा केही दिनमै निर्णय गर्ने बताउनुभयो । ‘हामी डेरामा बसेर परीक्षामा सहभागी हुने वातावरण बताउँदैनौं, सबै विद्यार्थीलाई परीक्षा सकेर पुनः आफ्नै घर फर्कने वातावरण बनाउन केन्द्र व्यवस्थापन गर्नेछौं।’ –बोर्डको भनाइ छ ।