सामाजिक सञ्जाल जीवनको नयाँ आयाम


माजिक सञ्जाल समाजका विभिन्न आयामसँग मानिसलाई जोड्ने प्रयासका खातिर सिर्जित प्रविधिको विकसित रूप हो। जसको फरक–फरक स्वरूपमा आएका फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, युट्युबलाई अधिकले स्वतस्फूर्त आत्मसात् गरे।आंशिकले बाध्यकारीरूपमा स्वीकार गरे। तर सामाजिक सञ्जालमाथि अहिले बहस तीव्र छ। यसमा जोखिम बढी छ कि अवसर ? सदुपयोग ज्यादा भइरहेको छ कि दुरूपयोग ? सामाजिक सञ्जाललाई सोख बनाउने कि लत ? सहयोगी बनाउने कि दुर्घटनाहरूको सहज अस्त्र ?

यी यावत् विषयका बारेमा प्रश्न र छलफल जरुर भएको छ। सामाजिक सञ्जाल मानिसहरूको विश्वासिलो र भपरर्दो साथी बनेको छ। मानिसले मानिसलाई गर्ने विश्वास घटेको छ। तर मानिसलाई कम विश्वास गर्न थालेको मानिसले सामाजिक सञ्जाललाई बढी विश्वास र प्रेम गर्न थालेको छ।

कसैलाई भन्न नसक्ने र भन्न मन नलागेका आन्तरिक कुराहरू पनि फेसबुकलगायतमा शेयर गर्छन्। आफ्ना अन्तरमनका भावना सामाजिक सञ्जालमा पोख्छन्। एक्लै हुँदा पनि फेसबुकले एक्लोपनको आभास हुन दिँदैन आजकाल। जीवनका सुखद क्षण या दुःखद पल। ती सबै साथी बनेर बाँड्ने ठाउँ बनेको छ सामाजिक सञ्जाल।

यति मात्र होइन, यो सञ्जाल ठूला–ठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँको रूपमा विकास भइरहेको छ। सूचनाको स्रोत पनि यही बनेको छ। अर्कोतर्फ कसैलाई रिस र कुण्ठा पोख्ने माध्यम पनि बनेको छ। प्रत्यक्ष हाकाहाकी भन्न नसक्ने विषयमा अप्रत्यक्ष सामाजिक सञ्जालबाट तथानाम लेख्न सक्छन्।

कुनै तथ्य, प्रमाणविना कसैको चरित्र हत्या गर्नुप¥यो भने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जालमा लेखिदिनु या बोलिदिनु भएको छ। जसका कारण मानिसले पाइरहेका दुःख, तनाव, सकस, सम्बन्धको दरारमा बढेको पारामिटरका बारेमा शायद धेरै बेखबर छौं।

सामाजिक सञ्जालको प्रयोगले अझ कस्ता असर ल्याउँछन्, यकिनका साथ भन्न सकिने अवस्था छैन। यकिन भएको एउटै मात्र कुरा के हो भने, मानिसको आचरण र अवस्थाअनुसार मानिसलाई सामाजिक सञ्जालले फरक तरिकाले प्रभाव पारिरहेको छ।

यद्यपि, सञ्चार प्रविधिको आजको युगमा सामाजिक सञ्जालको मोह थप चुलिँदो छ। एक अध्ययनअनुसार, संसारभरका तीन अर्ब मानिस अथवा विश्वको पूरा जनसंख्याको झन्डै ४० प्रतिशत मानिस सामाजिक सञ्जाल प्रयोग गर्दछन्।हरेक मानिसले औसतमा दुई घण्टा यस्ता सामाजिक सञ्जालमा शेयर, लाइक, ट्वीट वा अपलोड र त्यसमा रमाएर समय बिताइरहेका हुन्छन्। हरेक मिनेटमा दशौँ लाख स्टाटस, ट्वीट र फोटो अपलोड हुने गर्छ।

सामाजिक सञ्जालले हाम्रो जीवनमा ओगट्दै गइरहेको हिस्साले हाम्रो मानसिक स्वास्थ्य, रहनसहन, समय र संस्कारमा कति आघात पु¥यारहेको छ भन्ने बारेमा पनि गम्भीरतापूर्वक सोच्न र मनन गर्न जरुरी छ।सामाजिक सञ्जालले प्रवेश पाएको धेरै भएको छैन। यसकारण पनि यसको प्रभावका परिणामलाई निर्णायक ठान्दा निश्चय हतारो हुन्छ। यद्यपि, यसको अधिक प्रयोगका विषयमा संवेदनशीलता अपनाउनु अत्यन्तै जरुरी छ।
प्रयोग गर्न जान्ने हो भने यो जति काइदाको चिज अरू कुनै छैन । तर यसको दुरुपयोग गर्ने हो भने यसले मानवजीवनमा धेरै हानि पुग्ने काम गर्न नसक्ला भन्न सकिन्न।
– सन्दीप पौडेल, काठमाडौं ।

अनेकौं सम्भावनाले भरिपूर्ण सुदूरपश्चिम
विकासको दृष्टिकोणले सुदूरपश्चिम धेरै पछाडि परेको छ । २५ लाख ५२ हजारभन्दा बढी जनसंख्या रहेको यस प्रदेशमा २५ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनि छन् । ताराले देखेको पर्यटन र जडीबुटी प्रयोग गर्न सक्यो भने यस क्षेत्रमा उन्नति हुन समय लाग्दैन । यस क्षेत्रमा रहेका तालहरूमा कैलाली जिल्ला घोडाघोडी ताल विश्व सम्पदा सूचीमा सूचीकृत सीमसार क्षेत्रको रूपमा परिचित हुनुका साथै धार्मिक दृष्टिकोणले समेत प्रसिद्ध छ ।

कञ्चनपुर जिल्लामा रहेको झिलमिला ताल, बेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताल आदि छन् भने डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बीचमा रहेको खप्तडताल यस क्षेत्रको प्रमुख पर्यटकीय आकर्षणको रूपमा रहेको छ । यातायातका सुविधाबाट वञ्चित रहेको यस क्षेत्रमा यातायातको लागि सडक सञ्जाल पु¥याउन सके जनताको आर्थिक उन्नति हुनुका साथै पर्यटनको विकास हुने पक्का छ ।

विभिन्न परम्पराबाट चिरपरिचित सुदूरपश्चिममा धार्मिक पर्यटनको हिसाबले धेरै सम्भावना बोकेको ठाउँ पनि हो । यस क्षेत्रका बडिमालिका, खप्तड बाबा, त्रिरपुरासुन्दरी, उग्रतारा, भागेश्वर, घण्टेश्वर, बैजनाथ, शैलेश्वरी, गोदावरीलगाएत धार्मिक पर्यटनको सम्भावना बोकेका ठाउँ हुन् । खप्तड, बूढीनन्दा देवी, शुक्लाफाँटा, सुर्मासरोवर ताल, महाभारत पर्वत, पाताल भूमेश्वर, घोडाघोडी ताल, अजयमेरुकोट, आलीताल, बेतकोट, व्यास हिमाल, सैपाल हिमाल, बडिमालिका, अपी हिमाल, रामारोशन क्षेत्र, दोधाराचाँदनी झोलुंगे पुल, कर्णाली पुल आदि यस क्षेत्रका प्रमुख पर्यटक स्थल हुन् ।

गरिबीको दलदलमा फसेको सुदूरपश्चिमका अधिकांश युवाहरू भारतको विभिन्न ठाउँमा चौकीदारीलगायत होटलमा काम गर्न जाने गरेको पुरानै इतिहास हो । तर, हाम्रो प्यारो सुदूरपश्चिम यसबाट छुट्कारा पाउन सकेको छैन । आफैं स्वावलम्बी बन्ने र कुनै कुरामा परनिर्भरता हुनुहुँदैन भन्ने त गरिन्छ तर जंगबहादुरको जस्तो काम गरी जनतालाई आत्मनिर्भर बनाउन सक्नु नै आमजनताको अपेक्षा हो । हाम्रो सुदूरपश्चिमको जति व्याख्या गरे पनि त्यति नै प्यारो लाग्छ । पर्यटन र जडीबुटीलाई जनताको आर्थिक उन्नतिको बाटो मान्ने हो भने हामी कति धनी हुन्थ्यौँ होला ।

सरकारले यहाँका युवाहरूलाई जडीबुटी खेती गर्न प्रोत्साहन गरी भारतलगायत अन्य मुलुक जाने चलन रोक्न सके मात्र समृद्धिको बाटो अपनाउन सकिन्छ । सुदूरपश्चिमको विकासका लागि विदेश भ्रमणमा जानेहरूले कुनै चिनो र प्रविधि ल्याउन सकेनन् । अरूको विकास र सम्पन्नता हेरेर रमाउने हामी सुदूरपश्चिमेलीलाई आफ्नै ठाउँको विकास हेर्ने रहर छ । पर्यटन, जडीबुटी, जलविद्युत्को सम्भावना देख्दादेख्दै पनि हामी किन यति धेरै पछाडि ? त्यसैले सरकारले पर्यटन, जडीबुटी, जलविद्युत्लाई एकैसाथ उपयोग गरी आफ्नै युवाहरूलाई रोजगारी दिन सके गरिबीको रेखामुनि रहेका जनतालाई माथि उकास्न सकिन्थ्यो कि ? यो मेरो मात्र सपना होइन, आमसुदूरको सपना हो ।
– सुदीप सोब, टीकापुर कैलाली ।