संसद् अन्त्य भए पनि समिति बैठक सञ्चालन गरिने


मधुसूदन रायमाझी, काठमाडौं

सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि संसद्को भूमिका प्रभावकारी बनाइने बताउनुभएको छ । उहाँले कार्य व्यवस्था परामर्श समितिको बैठकमा संघीय संसद्अन्तर्गत रहेका समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि संसद् सचिवालयका निमित्त महासचिव डा. रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा प्रतिनिधि सभा र मातहतका निकायलाई प्रभावकारी ढंगले सञ्चालन गर्न विषयगत समितिका सभापतिहरूको बैठक सञ्चालन गर्ने सहमति भएको उल्लेख गर्नुभएको छ ।

प्रकोपसँग सम्बन्धित समितिहरूको बैठक उपयुक्त माध्यम अपनाई गर्न प्रेरित गर्ने, ई–पार्लियामेन्टको अभ्यास गर्न आवश्यक व्यवस्था यथाशीघ्र मिलाउने र यसका लागि आवश्यक पर्ने सफ्टवेयरहरूको व्यवस्थापनका लागि सचिवालयलाई जिम्मा दिने निर्णय भएको विज्ञप्तिमा भनिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र निर्णयबारे सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउनुहुने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक, गृह मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलगायत सम्बन्धित निकायसँग समन्वय गरी सरकारलाई आवश्यक सुझाव दिने निर्णय पनि बैठकले गरेको छ ।

सभाखुको अध्यक्षतामा बसेको बैठकले देशको हालको विषम परिस्थितिमा प्रतिनिधि सभा र सांसदहरूको भूमिका, विषयगत समितिहरूको बैठक सञ्चालनका वैकल्पिक उपायहरू र सूचना प्रविधिको उपयोगका लागि सफ्टवेयर व्यवस्थापन जस्ता महŒवपूर्ण विषयहरूमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ ।

छलफलको क्रममा सभामुख सापकोटाले अहिले देशको विषम परिस्थितिका सम्बन्धमा संघ, प्रदेश र स्थानीय सरकारबाट भइरहेका कामकारबाहीका बारेमा सातै प्रदेशका माननीय सभामुख र उपसभामुखसँग छलफल गरी राय परामर्श गरेको जानकारी गराउनुभएको थियो ।