नेपाल समाचारपत्र, काठमाडौं
मुलुकभर सक्रिय अवस्थामा रहेको स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभावले गर्दा देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मुलुकको धेरैजसो स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीयरूपमा विकसित स्थानीय वायु र आंशिकरूपमा सक्रिय पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली आएको हो ।
मौसमविद् विभूति पोखरेलले पश्चिमी वायुको प्रभाव आंशिक रहे पनि स्थानीय वायुसँग मिलेर थप सक्रिय मौसम प्रणालीले गर्दा मुलुकभर मेघ गर्जन, हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको बताउनुभयो ।
‘मुलुकको अधिकांश भागमा मेघ गर्जन हावाहुरीसहित आंशिकदेखि सामान्य वर्षा देखिएको छ’, उहाँले भन्नुभयो– ‘स्थानीय वायुको सक्रियतासँगै पश्चिमी वायुको आंशिक प्रभावले गर्दा थप मौसम शक्तिशाली भएको हो।’
हाल मुलुकको पश्चिमी पहाडी भू–भाग तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
रातीको समयमा भने मुलुकको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
गर्मी महिना शुरू भएसँगै वायुमण्डलमा बढ्दो तापक्रमले गर्दा स्थानीय वायु सक्रिय हुने र त्यसमा पश्चिमी वायुको प्रभाव रहँदा हावाहुरी, मेघ गर्जनसहितको वर्ष हुने तर ती वर्षा क्षणिक हुने मौसमविद्को भनाइ छ ।
यो क्रम बिहीबारसम्म चल्ने देखिएको र त्यसपछि सामान्य हुने महाशाखाले जनाएको छ । अधिकांश स्थानमा मध्याह्नदेखि यस्तो अवस्था देखिएपछि केही स्थानमा भने बिहानैदेखि देखिने महाशाखाको दाबी छ ।
हावाहुुरी र चट्याङबाट बच्न घरबाहिर नजान मौसमविद्ले आग्रहसमेत गरेका छन् ।











प्रतिक्रिया