खोप नआई कोरोना भाइरसले सधैंका लागि बिदाइ नलिने


नेपाल समाचारपत्र, काठमाडौं

कोरोना संक्रमण (कोभिड–१९) नियन्त्रण खोपबिना पूर्णतः खारेज नहुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनमा संगठनका महानिर्देशक डा. टेड्रोस एदानाम गेब्रियससले यस प्रकारको निष्कर्ष निकाल्नुभएको हो ।

उहाँले भन्नुभयो– ‘जबसम्म यो रोगविरुद्धको खोपको विकास र वितरण हुँदैन तबसम्म यसको संक्रमण पूर्णरूपमा रोक्न सकिँदैन ।’ यतिबेला विश्वलाई कोरोनाले निकै ठूलो क्षति पु¥याउनुका साथै शिथिल बनाएको अवस्थामा चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरियालगायतका मुलुकहरूमा वैज्ञानिकहरूले खोपका विषयमा निकै खोजी अनुसन्धान गरिरहेका छन् ।

पछिल्लो समय कोरोना संक्रमित भई निको भएका व्यक्तिहरूको प्लाज्मा गम्भीर अवस्थामा उपचार भइरहेका बिरामीमा परीक्षण भइरहेको छ । यतिले मात्र पर्याप्त नहुने र खोप करोडौंको संख्यामा उत्पादन हुनुपर्ने, यसका लागि खोप पत्ता लागिसकेको अवस्थामा उत्पादनका लागि ठूलो धनराशि लगानी गर्नुका साथै समय लाग्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

महानिर्देशक डा. टेड्रोस एदानामले यो भाइरस सन् २००९ मा देखिएको स्वाइनफ्लुभन्दा दश गुणा खतरताक भएको बताउनुभयो । ‘यसको संक्रमण निकै छिटो भइरहेको छ, कतिपय देशमा तीन–चार दिनमै संक्रमितहरू दोब्बर भएका छन् । नर्सिङ होमजस्ता भिडभाड हुने ठाउँबाट पनि यो भाइरस सजिलै सर्नसक्छ ।

त्यसैले हाम्रो अहिलेको आवश्यकता भनेको शुरूमै केसहरूको खोजी गर्ने, परीक्षण गर्ने, आइसोलेसनमा राख्ने र प्रत्येक केससँग जोडिएकाहरूको खोजी गर्नुको विकल्प छैन।’ –उहाँले भन्नुभयो ।

चीनको हुवेईप्रान्तस्थित उहान शहरमा गत ३१ डिसेम्बर २०१९ मा पहिलो केस प्रमाणित भएलगत्तै संसारका दुई सयभन्दा बढी देशमा फैलिएको यो भाइरसबाट १९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यही भाइरसको कारण १ लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । साढे ४ लाख जति उपचारपछि घर फर्केका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा विश्वका अधिकांश देश लकडाउनमा रहेका छन् ।