वैशाख १५ गतेसम्म लकडाउन, लुकेर बसेकालाई अनिवार्य क्वारेन्टाइमा राखिने


नेपाल समाचारपत्र, काठमाडौं

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा फैलिन नदिन सरकारले यही वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ ।

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १६ जना पुगेसँगै सरकारले लकडाउन अवधि थप्ने निर्णय गरेको हो ।

सरकारले गत चैत ११ गते कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने घोषणा गरेको थियो । कोराना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । मंगलबार मात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रोचोटि समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो । अहिले फेरि चौथोपटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ । यता छिमेकी देश भारतले भने वैशाख २१ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा लकडाउन कायम रहँदासम्म नेपालमा पनि हुने विषयमा मन्त्रीहरूलाई ‘ब्रिफिङ’ गर्नुभएको एक मन्त्रीले नेपाल समाचारपत्रलाई बताए ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने– ‘लकडाउनलाई प्रभावकारी बनाउन सीमा नाकालाई थप कडाइ गर्नुपर्छ, भारतमा रहेका नेपालीहरूलाई भारत सरकारले व्यवस्था गर्ने र नेपालमा रहेका भारतीयहरूलाई नेपाल सरकारले व्यवस्थापन गर्ने गरी अगाडि बढ्नुको विकल्प छैन्, यस बारेमा कुराकानी भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले नेपालको सीमा नाकामा आएर बसेका नेपालीलाई तत्काल नेपाल ल्याउन सम्भव नभएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले विदेशबाट आएर पनि लुकेर बस्नेमाथि सरकारले एक्सन लिने बताउँदै विदेशबाट आएकालाई अब खोजीखोजी होम क्वारेन्टाइनमा होइन सरकारले बनाएको क्वारेन्टाइनमा राखेर निगरानी गर्छ, ती मन्त्रीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।

बैठकमा प्रधानमन्त्री ओलीले विभागीय जिम्मेवारीअनुसार प्रभावकारी काम गर्न पनि मन्त्रीहरूलाई कडारूपमा निर्देशन दिनुभएको थियो । त्यसै गरी बैठकले शहरी क्षेत्रबाहेक गाउँमा खेती गर्ने सिजन भएकाले किसानहरूलाई बाली लगाउन दिने पनि निर्णय गरेको छ ।