परीक्षण बढेसँगै बढे संक्रमित


भगवती तिमल्सिना, काठमाडौं ।

उपत्यकाको पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टमा र्यापिट टेस्टबाट पोजेटिभ देखिएका तीन जनामध्ये पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा दुई जनाको पोजेटिभ देखिएको छ ।

एक जनाकोे रिपोर्ट स्पष्ट नभएकाले मंगलबार पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालका साथै अन्य प्रदेशबाट पनि धमाधम रिपोर्ट आइरहेको र कतिपयको पुनः परीक्षण गरेर मात्र सार्वजनिक गर्नुपर्ने अवस्था रहेको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

डा. देवकोटाका अनुसार पाटन अस्पतालमा पोजेटिभ देखिनेमा सोमबार पेप्सिकोलाबाट ल्याइएका ८१ वर्षे महिला र ५८ वर्षे पुरुष रहेका छन् ।
पेप्सीकोलाको टाउनप्लानिङको सनसिटी अपार्टमेन्टमा बस्नेमध्येका केही व्यक्तिहरू सोमबार अपार्टमेन्ट सिल्ड गर्दा बाहिरै परेकाहरू राती नै पुख्र्यौली थलोतर्फ लागेका छन् ।

त्यसै गरी बाहिरबाट काभ्रे पुगेका एक व्यक्तिलाई स्थानीयले धरपकडसमेत गरेकाले सुरक्षाकर्मीको सुरक्षा घेराभित्रै राखी मंगलबार ¥यापिट टेस्ट घरमै गएर गरिएको र रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पताल स्रोतले जनाएको छ ।

उक्त टाउनप्लानिङमा चैत ८ गते अधिवेशनसमेत भएको र ठूलै संख्यामा राजनीतिज्ञसमेतको उपस्थिति रहेको चर्चाले थप त्रासको स्थिति सृजना गरेको छ ।

संक्रमित व्यक्तिहरूले नजिकैको औषधी पसलबाट पटकपटक सिटामोल खरिद गरी खाँदै गरेको र नजिकैका ३ वटा एटीएम बुथसमेत प्रयोग गरेको, अपार्टमेन्टका अधिकांशले प्रयोग गर्ने दुईवटा खाद्यान्न पसलसमेत सुरक्षाकर्मीले सिल्ड गरी आवश्यक टे«सिङ मंगलबारबाटै शुरू गरिसकेको सुरक्षा स्रोतले जनाएको छ ।

विदेशबाट आउने व्यक्तिहरू स्वस्फूर्तरूपमा स्वास्थ्य परीक्षण गराउन स्वास्थ्य संस्था जानुको सट्टा लुकिछिपी बस्ने र सूचना लुकाउने गरेका कारण संक्रमितको संख्या बढ्ने सम्भावना रहेको धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

आफ्नो स्वास्थ्य र जीवनका लागि गरिएको लकडाउनको पालना गर्नु र समयमै स्वास्थ्य परीक्षण गरी आफ्नो र आफ्नो परिवार, समाज र देशका लागि स्वस्थ जनशक्तिको विकास गर्नु सबैको दायित्व हो भन्ने कुराको ज्ञान हुनु जरुरी रहेको पनि अस्पताल परिसरमा खटिएका सुरक्षाकर्मी बताउँछन् ।

हालसम्म संक्रमित प्रमाणित भएकाको टेकु अस्पतालमा दुई जना पाटन अस्पतालमा २ जना धौलागिरी अस्पतालमा २ जना, सेती अञ्चल अस्पतालमा ५ जना वीरगन्जमा ४ जनाको उपचार भइरहेको छ । संक्रमित प्रमाणित भएका १६ जनामध्ये एक जना २ महिना पहिला नै निको भएर घर फर्किसकेका र १५ जनाको विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको डा. देवकोटाले बताउनुभयो ।

हालसम्म ५६ स्थानबाट र्यापिड टेस्ट थालनी गरिएको र र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएकामध्ये शंकास्पदलाई पुनः दोहोर्याउँदा कतिपयमा नेगेटिभ पनि आएको र कति नेगेटिभ रिपोर्ट आएकाको पोजेटिभ पनि देखिनुले र्यापिड टेस्ट गर्ने मेसिनप्रतिको विश्वसनीयतामा शंका उत्पन्न भएको छ ।

शंका लागेको रिपोर्टलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलबाट पुनः परीक्षण गरी आएको रिपोर्टलाई मात्र स्वास्थ्य मन्त्रालयले आधिकारिकरूपमा घोषणा गर्दै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना आशंकामा हालसम्म पीसीआर विधिबाट ६ हजार २ सय ९९ जनाको नमुना परीक्षण गरिएको छ । जसमध्ये उपत्यका बाहिर १ हजार १ सय ८० को नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

र्यापिट टेस्ट ६ हजार ६ सय ७ नमुना परीक्षण भएको छ । खासगरी विदेशबाट आएका मानिसमा र्यापिट टेस्ट विधिबाट ५ हजार ७ सय ७१ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाल देशभर आइसोलेसनमा ९९ जना रहेका छन् । जसअन्तर्गत उपत्यकामा १२ र उपत्यका बाहिर ८७ जना रहेका छन् । रेड जोनमा २ सय २८ जना रहेको डा. देवकोटाले बताउनुभयो ।