११८० मा फोन गर्नुस्, एम्बुलेन्स आउँछ


ईश्वरराज ढकाल, काठमाडौं

लकडाउनको समयमा कोही बिरामी परे तत्काल ११८० मा फोन गरे एम्बुलेन्सले अस्पताल पु¥याउनेछ । काठमाडौं महानगरपालिकाले अस्पताल जान आउन परेको कठिनाइलाई सहज बनाउन काठमाडौं एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।

लकडाउनको कारण अधिकांश बिरामी घण्टांैसम्म हिँडेर अस्पताल आउनुपर्ने बाध्यता अन्त्य गर्न कामपाले एम्बुलेन्स सेवा शुरू गरेको हो । यो सेवा लकडाउन अवधिसम्म हुनेछ । एम्बुलेन्स व्यवस्थापनको गरेबापत केही खर्च कामपाले गर्नेछ ।

त्यसका लागि महानगरले संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौं जिल्ला कार्यसमितिसँगको सहकार्यमा मंगलबारबाट सेवा सञ्चालन गरेको हो । तत्काल एम्बुलेन्स सेवा दिन चाबहिल र बौद्ध क्षेत्रका लागि बा६च ९१००, बालाजु बा३च ८४१३, स्वयम्भू बा१२च २३६०, लाजिम्पाट बा६च २८२ र एयरपोर्ट कोटेश्वर क्षेत्रमा ना२च ४१२० नम्बरका गरी ५ वटा एम्बुलेन्स राखिएका छन् । ती एम्बुलेन्सले २४सै घण्टा सेवा दिने कामपाले जनाएको छ ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको समयमा बिरामी परेकालाई सेवा दिन कामपाले आपत्कालीन एम्बुलेन्स सेवा सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आपत्को अवस्थामा तत्काल सहयोग गर्न एम्बुलेन्स सेवा सञ्चालन गरेका हौं । कामपाले सेवाग्राहीको फोन आएपछि जुन एम्बुलेन्सले बिरामीलाई छिटो सेवा दिन सक्छ, त्यही क्षेत्रमा परिचालन गर्ने योजना बनाएको जनाएको छ ।’

कामपाको प्रशासन विभागका प्रमुख नमराज ढकाल र चालक संघका तर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले हस्ताक्षर गरी सम्झौता गरेलगत्तै सेवा शुरू भएको हो ।

यसअघि कामपाले कोरोना भाइरस संक्रमितका लागि महानगरको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा १०२ बाट अस्पताल पु¥याउने व्यवस्था गरिसकेको छ । सेवा थप गरेर कोरोनाबाहेक अन्य समस्या भएका बिरामीका लागि अस्पताल जान आउन संयुक्त एम्बुलेन्स चालक संघसँग सहकार्य गरेको हो ।

एम्बुलेन्सले हृदयाघात, मिर्गौला रोग र आकस्मिक सेवाका लागि अस्पताल जानुपर्ने बिरामीलाई पहिलो प्राथमिकता दिने महानगरले जनाएको छ । यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जानका लागि मात्रै सुविधा दिइन्छ ।

यो सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो । त्यस सेवाबाहेकको शुल्क महानगरले भुक्तानी गर्छ । यदि महानगरबाहिर २ किलोमिटरभन्दा टाढा जानुपरे बिरामीले सरकारले तोकेअनुसारको शुल्क तिर्नुपर्छ ।

सेवा दिएबापत एम्बुलेन्स सेवाले सेवाग्राहीसँग कुनै प्रकारको थप शुल्क लिन नपाउने व्यवस्था सम्झौतामा उल्लेख छ । उता ललितपुर महानगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपलब्ध गराएको एम्बुलेन्सले सेवा दिने भएको छ ।